अलैँची निर्यातमा ४४ प्रतिशत वृद्धि

अलैँची निर्यातमा ४४ प्रतिशत वृद्धि
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ९, बिहीबार ११:०५
अलैँची निर्यातमा ४४ प्रतिशत वृद्धि

झापा : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मेची भन्सार कार्यालयमार्फत अलैँचीको निर्यात करिब ४४ प्रतिशतले बढेको छ। कार्यालयका तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको ५२२ मेट्रिक टन अलैँची विदेश पठाइएको हो।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको थियो।

ADVERTISEMENT

यस्तै, चालु आवको दुई महिनामा चियाको निर्यात भने ३४ प्रतिशतले घटेको छ। भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा रु ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ भने अघिल्लो वर्ष यतिबेला यो परिमाण रु एक अर्ब १३ करोड ७४ लाख आठ हजार थियो।

कार्यालयका तथ्याङ्कअनुसार अन्य निर्यात हुने वस्तुमध्ये छुर्पी ९८.३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोभी १५५.२० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत र मुसुरो दाल ६५५.१० प्रतिशतले बढेको छ। तर, फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले घटेको छ।

समग्रमा, चालु आवको दुई महिनामा मेची भन्सार कार्यालयमार्फत रु तीन अर्ब छ करोड ३७ लाख ३९ हजार मूल्य बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार ११:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !