चुरे संरक्षणका लागि नयाँ संगठन, आन्दोलनको चेतावनी

चुरे संरक्षणका लागि नयाँ संगठन, आन्दोलनको चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ५, आईतवार ०९:५७
चुरे संरक्षणका लागि नयाँ संगठन, आन्दोलनको चेतावनी

जनकपुरधाम : चुरे तथा वनजंगल संरक्षण अभियान अन्तर्गत नयाँ संगठन गठन गरिएको छ । ‘जेडयुथ फर नेचर’ नाम दिइएको संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको छ भने विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान गरिएको छ ।

शनिबार जनकपुरधामको नेपाल पत्रकार महासंघ धनुषाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले देशको वर्तमान अवस्थामा चुरे तथा वनजंगल संरक्षणसम्बन्धी मुद्दाप्रति सरकारले देखाएको असंवेदनशीलता, भ्रष्टाचार र कुशासनका कारण युवाहरूमा गहिरो असन्तोष उत्पन्न भएको जनाएको छ ।

ADVERTISEMENT

यस्तै, विगतमा पटक–पटक उठाइएका मागहरूप्रति सम्बद्ध निकायले ध्यान नदिएको गुनासो गर्दै संगठनले प्रदेशमा अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्ने जस्ता राजनीतिक मागहरू अघि सारेको छ ।

यसबाहेक, संगठनले चुरे–भावर क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न, प्राकृतिक स्रोत–साधनको दोहन तत्काल रोक्न, चुरे क्षेत्रका नदीहरूमा चरणबद्ध रूपमा चेक ड्याम निर्माण गर्न र चुरे वनजंगलको संरक्षणका लागि विशेष फोर्स गठन गरी त्यसलाई डिभिजन वन कार्यालय अन्तर्गत राख्नुपर्ने आवश्यकता औँल्याएको छ ।

मागहरू चाँडोभन्दा चाँडो सम्बोधन नगरिएमा आफूहरू भ्रष्टतन्त्रविरुद्ध प्रतिकार आन्दोलनमा उत्रन बाध्य हुने संगठनले चेतावनी दिएको छ । साथै, जेन जी पुस्ताले उठाएका सम्पूर्ण जायज मागहरूलाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ । सो अवसरमा २३ र २४ गते शहादत प्राप्त गरेका युवा विद्यार्थीहरूलाई श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार ०९:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !