जनकपुरका युवाहरूको पहलले सडकमा दुर्घटना जोखिम घटाउँछ

जनकपुरका युवाहरूको पहलले सडकमा दुर्घटना जोखिम घटाउँछ
राधेश्याम राउत राधेश्याम राउत २०८२ भाद्र १०, मंगलवार १४:५३
जनकपुरका युवाहरूको पहलले सडकमा दुर्घटना जोखिम घटाउँछ

जनकपुरधाम : रातको समयमा सडकमा गाई–गोरु र कुकुर जस्ता चौपाया अचानक देखिँदा हुने दुर्घटनाले जनकपुरधाममा बारम्बार जोखिम बढाउँदै आएको थियो। तर अहिले स्थानीय युवाहरूले गरेका सानो प्रयासले यो समस्या कम हुँदै जाने अपेक्षा गरिएको छ।

जागरुक युवाहरूको समूहले सडकमा आवतजावत गर्ने चौपायाका घाँटीमा रिफ्लेक्टर जडान गर्न थालेका छन्। राति टर्च वा सवारीसाधनको हेडलाइट परेपछि चम्किने यी रिफ्लेक्टरले चालकलाई सडकमा चौपायाको उपस्थिति सजिलै देख्न सकिने बनाएको छ।

ADVERTISEMENT

“सडकमा हरेक वर्ष सयौँ दुर्घटना चौपायाका कारण हुने गरेको छ। हामीले रिफ्लेक्टर जडान गरेर कम्तीमा दुर्घटना घटाउन सकिन्छ भन्ने विश्वासका साथ यो पहल सुरु गरेका हौँ,” अभियानमा संलग्न एक युवा बताउँछन्।

युवाहरूले आफ्नै खर्चमा रिफ्लेक्टर किनेर चौपायामा जडान गरेका हुन्। उनीहरूका अनुसार यो काम निरन्तर गर्ने योजना बनाइएको छ।

जनकपुरवासीले युवाहरूको यस प्रयासलाई खुलेर सराहना गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष प्रशान्त झा भन्छन्, “यस्तो जनचेतनामूलक कामले धेरै मान्छेको जीवन सुरक्षित हुन्छ। यो देखेर अरू ठाउँमा पनि यस्तै अभियान सुरु हुने अपेक्षा गर्न सकिन्छ।”

युवा जनमत संघ मधेश प्रदेशका अध्यक्ष रिक्की सिंहले भने,’ सडकमा चौपायाका कारण हुने दुर्घटनाले चालक मात्र नभई पैदल यात्रु पनि जोखिममा पर्छन्। यस्तो अवस्थामा रिफ्लेक्टर जडानले सजगता बढ्ने र दुर्घटनाको सम्भावना कम हुने” उनको भनाइ छ।

जनकपुरधामका युवाहरूले सुरु गरेको यो प्रयास अब शहरमा सडक सुरक्षासँगै जिम्मेवार नागरिकको उदाहरण बनेको छ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १४:५३
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !