जनकपुरधाममा युवाहरूले एकपछि अर्को पोखरी सरसफाई गर्दै

जनकपुरधाममा युवाहरूले एकपछि अर्को पोखरी सरसफाई गर्दै
राधेश्याम राउत राधेश्याम राउत २०८२ भाद्र ७, शनिबार १५:२०
जनकपुरधाममा युवाहरूले एकपछि अर्को पोखरी सरसफाई गर्दै

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामका ऐतिहासिक पोखरीहरूमा युवाहरूले निरन्तर सरसफाई अभियान सञ्चालन गरिरहेका छन्।

शनिबार धनुषसागर सरोवरमा सरसफाई अभियान सम्पन्न गरिएको छ। गायक जयनाथ अधिकारीको नेतृत्वमा चलिरहेको अभियानअन्तर्गत प्रत्येक शनिबार बिहान युवाहरू भेला भई सरसफाई गर्ने क्रमलाई निरन्तरता दिइएको हो।

ADVERTISEMENT

अभियानकर्मी बिरेन्द्र यादवका अनुसार शनिबारसम्म आइपुग्दा धनुषसागर सरोवरमा १६औं पटक सरसफाई गरिएको छ। उनका अनुसार निरन्तर सरसफाईका कारण पोखरीको स्वरूपमा उल्लेख्य सुधार आएको छ।

धनुषसागर सरोवर जनकपुरधामका प्रमुख धार्मिक र सांस्कृतिक स्थलमध्ये एक हो। मठ–मन्दिर नजिकै रहेको यो सरोवरमा प्रत्येक दिन सयौँ भक्तजन तथा पर्यटक पुग्ने गरेका छन्। ग्रामिण भेगका युवाहरूको सक्रियताले यस सरोवरलाई सफा र आकर्षक बनाउन सहयोग पुगेको अधिकारीले बताए।

युवाहरूको सरसफाई अभियान यतिमै सीमित छैन। शनिबारदेखि जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित गोर्धौवा पोखरीमा पनि नयाँ समुहले सरसफाई सुरु गरेको छ।

स्थानीयवासीले युवाहरूको यस प्रयासलाई सराहना गर्दै नगरको सौन्दर्य र धार्मिक महत्व जोगाउन सबैलाई अभियानमा जोडिन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १५:२०
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !