गृहमा १८ उपसचिव ६ महिनादेखि कामविहीन

गृहमा १८ उपसचिव ६ महिनादेखि कामविहीन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १३:४०
गृहमा १८ उपसचिव ६ महिनादेखि कामविहीन

काठमाडौं : गृह मन्त्रालयमा बरण्डामा रहेका १८ उपसचिव ६ महिनादेखि कामविहीन छन् । उनीहरूलाई चैत २०८१ देखि जिम्मेवारीविहीन बनाएर राखिएको हो । अरु निकायबाट सरुवा भएर आएका मात्र होइन, आफ्नै मातहतका कार्यालयबाट मन्त्रालय तानेका कर्मचारीहरूलाई समेत जिम्मेवारी दिन गृह मन्त्रालयले सकेको छैन ।

राजनीतिक लविङ र स्वार्थ समूहको घेरामा पर्दा ६ महिनासम्म कर्मचारीलाई जिम्मेवारी दिन नसकेको गृह मन्त्रालय सोतले बताएको छ । दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने व्यवस्थालाई समेत मन्त्रालयले कार्यान्वयन गरेको छैन ।

ADVERTISEMENT

‘दाङ, भक्तपुर र ललितपुरमा प्रमुख जिल्ला अधिकारी नभएको पनि एक हप्ताभन्दा बढी भइसक्यो, सेटिङ र बिचौलियाको चंगुलमा गृह मन्त्रालय परेका कारण यस्तो बेथिति देखिएको हो,’ गृह मन्त्रालयका एक सहसचिवले भने, ‘यस्तो बेथिति र स्वार्थ समूहको यति ठूलो घेरा यसअघि कहिल्यै देखिएको थिएन ।’

उनका अनुसार २२ चैतदेखि उपसचिवहरूलाई जिम्मेवारीविहीन बनाएर बरण्डामा राखी राज्यस्रोत दुरुपयोग गरिएको छ ।

‘उपत्यकाका दुई र दाङमा प्रमुख जिल्ला अधिकारी खटाइएको छैन । वर्षात्‌को बेला छ, विपद् आउन सक्छ, यस्तो बेला सेटिङ हेर्ने हो कि जनताको जिम्मेवारी ?’ ती सहसचिवले प्रश्न गरे, ‘सुशासन भनेको के रहेछ ?’

यी तीन जिल्लामा सहसचिवस्तरका कर्मचारी प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । सहसचिव प्रमुख जिल्ला अधिकारी हुने ठाउँमा समेत उपसचिवलाई पठाउने प्रचलनका कारण बेथिति आएको उनले बताए ।

के भन्छन् प्रवक्ता ?

खाली रहेका तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउने र बरण्डामा रहेका उपसचिवहरूको छिट्टै व्यवस्थापन हुने गृह मन्त्रालयका प्रवत्ता आनन्द काफलेले बताए । उनले भने, ‘प्रमुख जिल्ला अधिकारी र उपसचिवहरूको जिम्मेवारीका विषयमा मन्त्रालय संवेदनशील छ, शीघ्र व्यवस्थापन हुन्छ । संख्या र अवधिका बारेमा तपाईंले आफ्नो तरिकाले बुझनुहोला, उहाँहरूको व्यवस्थापन गर्न मन्त्रालय जिम्मेवार छ, शीघ्र हुन्छ ।’

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १३:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !