कपिलवस्तुमा सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

कपिलवस्तुमा सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार २२:५४
कपिलवस्तुमा सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

कपिलवस्तु : जनमत पार्टी कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मंगलबार सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेताहरूले जनमत पार्टीको सदस्यता लिएका छन्।

पार्टीका जिल्ला इन्चार्ज रियाज अहमद खानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, विशिष्ट अतिथि उपाध्यक्ष दानबहादुर चौधरी थिए। कार्यक्रममा केन्द्रीय सदस्य रउफ खान, सिता राम पटेल, संगीता यादव, प्रदेश उपाध्यक्ष धीरज चौधरी, युवा नेता विनोद चौधरीसहित जिल्लास्तरका अगुवा नेताहरूको उपस्थिति थियो।

ADVERTISEMENT

कार्यक्रमको सञ्चालन जयप्रकाश चौधरीले गरेका थिए।

जनमत पार्टीमा प्रवेश गर्ने प्रमुख नेताहरूमा एमाले, कांग्रेस, जसपा नेपालजस्ता दलका स्थानीय तहमा प्रभावशाली भूमिकामा रहेका नेता तथा कार्यकर्ता छन्।

एमाले परित्याग गरी मायादेवी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष हरि गोविन्द चौधरी वडा कमिटीसहित जनमत पार्टीमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट वडा नं ११, कपिलवस्तु नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी सुबास चौधरीले पनि कांग्रेस छाडेर जनमत रोजेका छन्।

त्यस्तै, पूर्व गाविस उपाध्यक्ष सलीम प्रधान, राज नारायण चौधरी, जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य नारायण यादव, मायादेवी–१ का वडा सदस्य सहबुदिन मुसलमान (जुम्मन), मायादेवी–३ का नाथु कहार, शुद्धोधन गाउँपालिका–३ का युवा नेता राम केश लोध र शुद्धोधन–१ का प्रभावशाली नेता वीरबहादुर थारु पनि जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा आयोजकहरूका अनुसार करिब २५० जना नेता तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममार्फत जनमत पार्टीले दल त्याग गरी आएका सम्पूर्ण नवप्रवेशीहरूलाई माला,अबिर र गम्छा लगाएर स्वागत गरेको थियो। कार्यक्रमका वक्ताहरूले जनमत पार्टी सशक्त राजनीतिक विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गर्दै नवप्रवेशीहरूप्रति विश्वास व्यक्त गरेका थिए।

पार्टीमा प्रवेश गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्दै जनमत पार्टीका नेताहरूले अबको चुनावी प्रतिस्पर्धामा जनमत निर्णायक शक्तिका रूपमा प्रस्तुत हुने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार २२:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !