जनकपुरमा तस्करीको काजु बरामद : प्रहरीकै मिलेमतोमा १२ बाल्टिन गायब

जनकपुरमा तस्करीको काजु बरामद : प्रहरीकै मिलेमतोमा १२ बाल्टिन गायब
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १८, आईतवार २०:०२
जनकपुरमा तस्करीको काजु बरामद : प्रहरीकै मिलेमतोमा १२ बाल्टिन गायब

जनकपुरधाम : सावित्री ट्राभल्सको बसमार्फत तस्करीको काजु काठमाडौं पठाउने क्रममा जनकपुरधाममा गरिएको चेकजाँचमा ३० बाल्टिन काजु बरामद भएको थियो। तर, त्यसमा १२ बाल्टिन काजु प्रहरीकै संलग्नतामा गायब पारिएको खुलासा भएपछि धनुषा प्रहरीले छानबिन सुरु गरेको छ।

गत असार १८ गते साँझ जटहीबाट काठमाडौंका लागि छुटेको सावित्री ट्राभल्सको बसलाई जनकपुरधामको रामानन्द चोकमा गोप्य सूचनाका आधारमा रोकी चेकजाँच गरिएको थियो। जानकी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) चौधरी यादव र घुमुवा टोलीले उक्त बसमा ३० बाल्टिन काजु बरामद गरेका थिए। ती काजु भारतबाट जटही नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको पुष्टि प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ।

ADVERTISEMENT

तर, जिल्ला प्रहरी कार्यालयमा जानकी प्रहरी चौकीले मात्र १८ बाल्टिन काजु बुझाएको पत्ता लागेपछि बाँकी १२ बाल्टिन कहाँ गए भन्ने विषयमा प्रश्न उठ्न थालेको छ। प्रहरी स्रोतका अनुसार बरामद काजुमध्ये १२ बाल्टिन सई यादव र घुमुवा टोलीका राजीव मण्डलले मिलेमतोमा स्थानीय व्यापारीलाई बेचेका थिए।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार तस्करहरूले काठमाडौंमा तस्करीका लागि सावित्री ट्राभल्स बस प्रयोग गर्दै आएका थिए। तस्करीमा संलग्न व्यक्तिहरू लामो समयदेखि सक्रिय रहेको र प्रहरीले त्यसको पहिचान पनि गरिसकेको छ।

छानबिन समिति गठन

काजु गायब भएको विषय बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले साउन १४ गते इलाका प्रहरी कार्यालय खजुरीका प्रमुख प्रहरी निरीक्षक बबिन्द्र नेवाङको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार जानकी प्रहरी चौकीले बुझाएको मात्र १८ बाल्टिन भए पनि प्रारम्भिक विवरणमा ३० बाल्टिन बरामद भएको पुष्टि भएपछि छानबिन सुरु गरिएको हो।

“घटनाको छानबिन गरी प्रतिवेदन आएपछि संलग्नहरूमाथि आवश्यक कारबाही अघि बढाइनेछ,” प्रवक्ता सिंहले भने।

घटनाले प्रहरी संगठनभित्रै रहेको भित्र्याइएको समान बेचेको आरोपप्रति गम्भीर प्रश्न उठाएको छ। अब छानबिन समितिको निष्कर्ष र त्यसपछि हुने कारबाहीले प्रहरीप्रतिको जनविश्वास पुनःस्थापित गर्ने या थप खल्बल्याउने भन्ने चासो बढेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार २०:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !