लोसपाबाट प्रशान्त गुप्ता निष्काशित, मन्त्री चयनप्रति आलोचना गरेका थिए

लोसपाबाट प्रशान्त गुप्ता निष्काशित, मन्त्री चयनप्रति आलोचना गरेका थिए
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १४, बुधबार २२:३१
लोसपाबाट प्रशान्त गुप्ता निष्काशित, मन्त्री चयनप्रति आलोचना गरेका थिए

रुपन्देही : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई पार्टीबाट निष्काशन गरेको छ।

पार्टी अध्यक्ष महन्त ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै गुप्तालाई ‘पार्टीको प्रतिष्ठामा आँच पुर्‍याउने र पदीय मर्यादा विपरीतका अभिव्यक्ति’ दिएको आरोपसहित निष्काशन गरिएको जनाएका छन्। विज्ञप्तिमा गुप्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको उल्लेख छ।

ADVERTISEMENT

रुपन्देहीका स्थायी बासिन्दा गुप्ता गत प्रदेशसभा निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेका थिए। आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै गुप्ताले पार्टी नेतृत्व र संसदीय दलप्रति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका थिए।

गुप्ताले पटक–पटक अवसर पाएका पाण्डेयको सट्टा पार्टीका उपनेता तथा केन्द्रीय सदस्य कनैया बानियालाई मन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

पाण्डेले संसदीय दलका नेता तथा प्रदेश अध्यक्षका हैसियतले कुनै परामर्श नगरी मन्त्री बनेको भन्दै बानियाले पनि असन्तुष्टि जनाउँदै आएका छन्।

प्रदेशसभामा बजेट पारित गर्न सत्तापक्षबाट विपक्षमा गइ एकै दिन मत दिँदा आलोचनाको केन्द्र बनेका पाण्डेविरुद्ध लोसपाभित्रको असन्तुष्ट समूहले लामो समयदेखि विरोध गरिरहेको छ।

पार्टी कार्यकर्ताहरूले पाण्डे दोहोरिएर प्रदेशसभा पुगेको, सरकारमा जान हतार गरेको र चार पटकसम्म मन्त्री बनिसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार २२:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !