मधेशलाई राहत: बेलायतको ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाबाट दुई करोड ६० लाखको सहयोग

मधेशलाई राहत: बेलायतको ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाबाट दुई करोड ६० लाखको सहयोग
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ११, आईतवार १९:५२
मधेशलाई राहत: बेलायतको ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाबाट दुई करोड ६० लाखको सहयोग

जनकपुरधाम : मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाले मधेशका खडेरी प्रभावित जिल्लामा राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने भएको हो।

ADVERTISEMENT

मुख्यमन्त्रीको सचिवालयका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका १० वटा पालिकामा लक्षित गरी कार्यक्रम लागू हुनेछ। आगामी ६० दिनसम्म सञ्चालन हुने उक्त परियोजनाबाट ८ हजार ३५५ घरधुरीका करिब ४४ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।

परियोजनाका लागि कुल दुई करोड ६० लाख ३३ हजार ४७६ रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कार्यक्रमलाई तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा खडेरीबाट अति प्रभावित क्षेत्रमा आपतकालीन रूपमा खानेपानी वितरण गरिनेछ। दोस्रो चरणमा गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, सिँचाइ प्रणालीको सुधार तथा दिगो पानी आपूर्ति संरचना निर्माणमा ध्यान केन्द्रित गरिनेछ।

तेस्रो चरणमा जीविकोपार्जन पुनःस्थापनामा प्राथमिकता दिइने बताइएको छ। यसअन्तर्गत ‘क्यास फर वर्क’ कार्यक्रम सञ्चालन, सिँचाइ संरचना मर्मत तथा वैकल्पिक बाली प्रवद्र्धनका लागि प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले अनुसार यो कार्यक्रमले खडेरीबाट प्रभावित समुदायलाई तत्काल राहत मात्र होइन, दीर्घकालीन समाधानमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार १९:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !