कांग्रेसका दुवै महामन्त्रीको सरकारलाई चेतावनी : ‘मूल्यमान्यता सम्झौता गर्नुपरे सरकार छाड्छौं’

कांग्रेसका दुवै महामन्त्रीको सरकारलाई चेतावनी : ‘मूल्यमान्यता सम्झौता गर्नुपरे सरकार छाड्छौं’
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार २२:२८
कांग्रेसका दुवै महामन्त्रीको सरकारलाई चेतावनी : ‘मूल्यमान्यता सम्झौता गर्नुपरे सरकार छाड्छौं’

काठमाडौं : नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार एकैदिन फरक–फरक स्थानबाट सरकारविरुद्ध तीव्र असन्तुष्टि जनाउँदै चेतावनी दिएका छन् ।

बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरूले सरकारको नीति तथा व्यवहारप्रति असहमति जनाउँदै कांग्रेसले मूल्यमान्यता र सिद्धान्तमा सम्झौता गर्नुपर्ने स्थिति आए तत्काल सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका हुन् ।

ADVERTISEMENT

थापा : ‘सरकारलाई मुवारक, कांग्रेसले आफ्नो बाटो हिँड्नुपर्छ’

चितवनमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस आफ्ना आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्न बाध्य भए तत्काल सत्ता त्याग गर्नुपर्ने बताए ।

‘हामी सरकारमा छौँ भन्दै गर्दा आफ्ना मूल्य र मान्यतासँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची “तिम्रो सरकार तिमीलाई मुवारक, हामी हिँड्यौं” भन्न सक्नुपर्छ,’ उनले भने ।

उनले कांग्रेसका मन्त्रीहरूले खल्तीमा राजीनामा बोकेर बस्नुपर्ने सुझावसमेत दिए । ‘मैले गलत काम गर्नुपर्‍यो भने त्यही बेला राजीनामा प्रधानमन्त्रीको टेबुलमा पड्काइदिन्छु भन्ने हिम्मत हुनुपर्छ,’ थापाले भने ।

शर्मा : ‘कुलिङ पिरियड’ हटाउने प्रयास भए सरकार जोगिंदैन

भक्तपुरमा आयोजित कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ सम्बन्धमा राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई जोगाइराख्न नसक्ने स्पष्ट पारे ।

‘कुलिङ पिरियड दुई वर्षको सट्टा साढे दुई वर्ष होला, तर हट्दैन,’ उनले भने, ‘यदि प्रधानमन्त्रीको निर्देशनमा यो हटाउने प्रयास भयो वा समितिको सिफारिस विपरीत गरियो भने कांग्रेस यो सरकारलाई जोगाइराख्दैन ।’

ओलीको व्यस्तता, कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओली एमाले केन्द्रीय समिति बैठकमा व्यस्त रहेका बेला कांग्रेसका शीर्ष नेताबाट आएको गठबन्धनविरोधी तीव्र अभिव्यक्तिले सत्तारूढ गठबन्धनभित्रको असहज अवस्था सतहमा ल्याएको छ ।

महामन्त्रीद्वयको अभिव्यक्तिलाई कांग्रेस नेतृत्वमा बढ्दो असन्तोष र आगामी दिनमा सम्भावित राजनीतिक समीकरण परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार २२:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !