मधेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ लाख ५० हजार ठगी गरेको खुलासा

मधेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ लाख ५० हजार ठगी गरेको खुलासा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार ११:२७
मधेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ लाख ५० हजार ठगी गरेको खुलासा

जनकपुरधाम : मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा उपकरण आपूर्ति गराएका एक व्यवसायीलाई रकम नदिएको भन्दै ठगीको आरोप लागेको छ।

आरके साह मेसनरी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक ई. राजेश कुमार साहले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जी–टेक एन्ड इन्जिनियरिङ प्रालिका सञ्चालक सुजित कुमार कापरीमार्फत ५ लाख २० हजार रुपैयाँ बराबरको उपकरण आपूर्ति गरेको र मन्त्रालयमा फुकुवा गर्नुपर्ने भन्दै १ लाख ३० हजार नगद समेत बुझाएको तर भुक्तानी नपाएको गुनासो गरे।

ADVERTISEMENT

उनका अनुसार पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नभएपछि कापरीले वि.सं. २०८१ मंसिर २८ गते सिटिजन बैंकको करेन्ट खाताबाट ६ लाख रुपैयाँको चेक दिएका थिए। तर सो चेक २०८१ चैत १५ गते साट्न जाँदा तीनपटकसम्म वाउन्स भएको साहको भनाइ छ। उक्त चेकमा कार्यालयको छापसमेत नरहेको उनले बताए।

जी–टेक एन्ड इन्जिनियरिङलाई ४ लाख ४० हजार रुपैयाँ बराबरको ‘जियोमेक्स जुम’ उपकरण र २० हजार ८ सय रुपैयाँ मूल्यको मेजरिङ ह्वील (४ थान) आपूर्ति गरिएको र १ लाख ३० हजार नगदसहित कूल ६ लाख ५० हजार ७ सय रुपैयाँ भुक्तानी नपाएको आरोप साहले लगाए।

यस विषयमा चेक बाउन्सको प्रमाणसहित उजुरी दिएपछि २०८२ जेठ १ गते कापरीविरुद्ध धनुषा प्रहरीले पक्राउ आदेश जारी गरेको साहको भनाइ छ। तर प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको आरोप पनि उनले लगाए।

उनले राजनीतिक संरक्षणका कारण कारबाही अघि नबढेको भन्दै नेकपा एमालेका मधेश प्रदेश प्रमुख सचेतक हरिनारायण महतोका छोरा रोशन महतो र आफूलाई सभामुखका ज्वाइँ भन्दै चिनाउने बिपिन महतोले समेत धम्की दिने गरेको आरोप लगाए।

घटनापछि मन्त्रालयको लेखा शाखामा कार्यरत कर्मचारी संजय मण्डलले आफूलाई फोन गरेर रकम भुक्तानीका लागि पहल गरिने भन्दै थप समाचार नछाप्न अनुरोध गरेको तर पछि उनी पनि कापरीमार्फतै पैसा लिन भन्न थालेको साहको भनाइ छ।

ठगी आरोपित जी–टेकका सञ्चालक सुजित कुमार कापरी एमालेका हंसपुर नगरपालिका–१ का वडाध्यक्ष पदका उम्मेदवारसमेत भएका थिए। हाल उनी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन मधेश प्रदेश अध्यक्ष छन्।

ई. साहले आफू र कापरी दुवै इन्जिनियर भएको र प्राविधिक पृष्ठभूमिबाट आएका भए पनि आफूले इमान्दारीका साथ आपूर्ति गर्दा धोका बेहोर्नु परेको बताए। उनले राज्यसँग न्यायको माग गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार ११:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !