जनकपुरधाममा ७ वर्ष सेवा दिएका प्रहरी कुकुर ‘मेशी’ सेवा निवृत्त, सम्मानसहित बिदाइ

जनकपुरधाममा ७ वर्ष सेवा दिएका प्रहरी कुकुर ‘मेशी’ सेवा निवृत्त, सम्मानसहित बिदाइ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २, शुक्रबार २०:४५
जनकपुरधाममा ७ वर्ष सेवा दिएका प्रहरी कुकुर ‘मेशी’ सेवा निवृत्त, सम्मानसहित बिदाइ

जनकपुरधाम : मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत केनाइन उपशाखा, जनकपुर विमानस्थलमा कार्यरत विष्फोटक पदार्थ खोज्ने तालीमप्राप्त कुकुर ‘मेशी’ आज औपचारिक रूपमा सेवा निवृत्त भएका छन्।

जर्मन सेफर्ड जातको मेशीले नेपाल प्रहरी सेवामा ७ वर्ष ९ महिना २० दिनसम्म विभिन्न सुरक्षामूलक जिम्मेवारीमा सेवा दिएका थिए। उनले जनकपुर, वीरगञ्ज, सर्लाही, रौतहटलगायत स्थानहरूमा हुने कार्यक्रम तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा सक्रिय रूपमा खटिने गरेका थिए।

ADVERTISEMENT

प्रहरी कार्यालयका अनुसार मेशीले दर्जनौँ संवेदनशील कार्यक्रम, सुरक्षासम्बन्धी अपरेसन तथा बमजस्ता शंकास्पद वस्तु पहिचानमा उल्लेखनीय योगदान दिएका थिए। उनको सूँघ्ने क्षमता, तालीम र अनुशासनका कारण उनी सुरक्षा व्यवस्थापनमा भरपर्दो सहयोगी सावित भएका थिए ।

सेवा निवृत्त अवसरमा जनकपुर विमानस्थल स्थित केनाइन उपशाखामा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रहरी अधिकृत, तालिम प्रशिक्षक तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मेशीलाई सम्मानपत्र प्रदान गरिनुका साथै सेवा भावको कदर गरिएको थियो।

नेपाल प्रहरीले तालीमप्राप्त कुकुरहरूलाई विशेष सुरक्षात्मक कार्यमा खटाउँदै आएको छ। मेशीजस्ता दक्ष कुकुरहरूको योगदानले प्रहरी संगठनको सफलता र जनविश्वास वृद्धि गर्न सहयोग पुगेको बताइएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार २०:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !