जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता हुने संकेत, संसदीय दललाई निर्णयको जिम्मा

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता हुने संकेत, संसदीय दललाई निर्णयको जिम्मा
मधेशपत्र मधेशपत्र २०८२ असार ९, सोमबार १६:५८
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता हुने संकेत, संसदीय दललाई निर्णयको जिम्मा

शिव अधिकारी , काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने संकेत दिएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको दुईदिने बैठकले समर्थनबारे पुनः विचार गर्न संसदीय दललाई निर्देशन दिएको हो।

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र संविधान संशोधनजस्ता विषयमा पूर्ण रूपमा असफल भएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

ADVERTISEMENT

‘सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ सुमनले भने, ‘हामीले त्यो निर्देशन दिएका छौं। अब थप निर्णय संसदीय दलको बैठकले गर्छ।’

उनका अनुसार अब सरकारलाई समर्थन जारी राख्ने कि फिर्ता लिने भन्ने अन्तिम निर्णय संसदीय दलको बैठकबाट हुनेछ।

पार्टी महासचिव तथा केन्द्रीय कार्यकारिणी सदस्य रामकुमार शर्माले पनि ओली नेतृत्वको सरकारसँगको सहकार्यको औचित्य सकिएको बताए। उनले सरकारले सत्ता साझेदारहरूप्रति आवश्यक सम्मान र व्यवहार नगरेको आरोप लगाए।

‘हामीले केपी ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गरेका छौं,’ शर्माले भने, ‘सरकार जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न असफल रह्यो। अब हामी यो सरकारको पापको भागीदार बन्न सक्दैनौं। छिट्टै संसदीय दलमार्फत समर्थन फिर्ता गर्छौं।’

उनले सरकारसँग भएका सम्झौता र प्रतिबद्धता कार्यान्वयनमा नआएको भन्दै गुनासो पनि पोखे।

प्रकाशित मिति: २०८२ असार ९, सोमबार १६:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !