मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा सम्पन्न

मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १२, शनिबार २२:५२
मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा सम्पन्न

वीरगञ्ज : मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा भव्यतापूर्वक सम्पन्न भएको छ ।

वीरगञ्जको मकालु होटलमा सम्पन्न सभामा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिश कुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी लगायतको नेतृत्वमा महत्वपूर्ण छलफलहरू भएका थिए ।

ADVERTISEMENT

सभामा पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले विश्वविद्यालयको भविष्यसम्बन्धी महत्त्वपूर्ण निर्णयहरूमा थप ऊर्जा प्रदान गरेको छ ।

यस सभामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. उपेन्द्र कोइराला, विश्वविद्यालयका सभासदहरू, प्राध्यापकहरू, कर्मचारीहरू, पत्रकार तथा अन्य अतिथिहरूको उपस्थितिले सभा अझै सजीव भएको थियो ।

मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यको अध्यक्षतामा भएको सभामा विश्वविद्यालय प्रशासन, विभिन्न नीति र योजनाहरूको समीक्षा गर्दै विश्वविद्यालयको शैक्षिक पूर्वाधार, अनुसन्धान क्षमता, र नयाँ शैक्षिक कार्यक्रमहरूको विकासका बारेमा महत्त्वपूर्ण छलफल गरिएको थियो । विश्वविद्यालयले मधेश प्रदेशको आवश्यकता अनुसार नयाँ कार्यक्रमहरू लागू गर्दै शैक्षिक स्तरलाई सुधार गर्ने योजनाहरू अघि सारेको उपकूलपति प्राध्यापक डा. शाक्यले बताए ।

उपकुलपति प्रा. डा. दीपक शाक्यले सभामा उपस्थित सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै सभालाई सफल बनाउनेमा सबैको सहयोगलाई प्रशंसा गरे । रजिस्टार विजय कुमार यादवले पनि सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न र विविध शैक्षिक क्षेत्रमा नवीनताहरू ल्याउन प्रतिबद्ध रहेको बताए ।

मधेश विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभा विश्वविद्यालयको निरन्तर प्रगतिको एक महत्वपूर्ण कदम भएको छ । नयाँ रणनीति र सहकार्यहरूको साथमा, विश्वविद्यालयले मधेश प्रदेशमा शैक्षिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार २२:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !