प्रधानमन्त्री शाहको २५ घण्टे भारत भ्रमण : हवाई रुटदेखि रेलमार्ग र २ खर्ब भारुको सहायता प्याकेजसम्म एजेन्डा

प्रधानमन्त्री शाहको २५ घण्टे भारत भ्रमण : हवाई रुटदेखि रेलमार्ग र २ खर्ब भारुको सहायता प्याकेजसम्म एजेन्डा
मधेशपत्र मधेशपत्र २०८३ मंसिर १, मंगलवार १०:१६
प्रधानमन्त्री शाहको २५ घण्टे भारत भ्रमण : हवाई रुटदेखि रेलमार्ग र २ खर्ब भारुको सहायता प्याकेजसम्म एजेन्डा

काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो दक्षिण एसियाली छिमेकी मुलुकको राजकीय भ्रमण हो।

करिब साढे २५ घण्टा रहने भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ। भ्रमणका क्रममा हवाई प्रवेशमार्ग, आर्थिक सहायता, रेल सेवा, ऊर्जा व्यापार, सिँचाइ तथा पूर्वाधार विकासलगायत विषयमा छलफल र सहमति जुटाउने तयारी छ।

ADVERTISEMENT

प्रारम्भिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं हुँदै नयाँदिल्ली प्रस्थान गर्नेछन्। उनी अपराह्न ३ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। विमानस्थलमा भारत सरकारका उच्चस्तरीय मन्त्रीले उनको स्वागत गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित ताज होटलमा पुग्नेछन्। भ्रमणको पहिलो दिन कुनै औपचारिक राजकीय कार्यक्रम राखिएको छैन। तर साँझ भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन नेपाली राजदूतावासले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने सम्भावना छ।

मंसिर ७ गते उच्चस्तरीय भेटवार्ता

भ्रमणको मुख्य दिन मंसिर ७ गते बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिनेछ। उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुनेछन्।

त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। लगत्तै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

होटल फर्किएपछि भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने र त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ।

सुरुमा दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीसहित १४–१४ सदस्यीय प्रतिनिधिमण्डलबीच औपचारिक बैठक बस्नेछ। बैठकपछि संयुक्त पत्रकार सम्मेलनमार्फत दुई देशका प्रधानमन्त्रीले भ्रमणका उपलब्धिबारे जानकारी गराउनेछन्। यद्यपि, पत्रकारहरूसँग प्रश्नोत्तर कार्यक्रम भने नराखिएको बताइएको छ।

सबै औपचारिक कार्यक्रम सम्पन्न भएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिनेछन्।

प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न ४ः२० बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पर्यटनमन्त्री खड्कराज पौडेललगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्। भ्रमण टोलीका १५ सदस्यको खर्च भारत सरकारले र बाँकी सदस्यको खर्च नेपाल सरकारले बेहोर्ने सहमति भएको जनाइएको छ।

हवाई प्रवेशमार्गमा ऐतिहासिक सहमतिको अपेक्षा

यस भ्रमणमा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्गको विषय प्रमुख एजेन्डाका रूपमा रहनेछ। स्रोतका अनुसार महेन्द्रनगरबाट ३९ हजार फिटको उचाइमा विमानलाई नेपाल प्रवेश गर्न दिने विषयमा भारत सकारात्मक देखिएको छ। यसमा सहमति भए भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र अन्तर्राष्ट्रिय उडान विस्तारमा सहजता आउने अपेक्षा गरिएको छ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सहज बनाउन भारतीय हवाई क्षेत्र प्रयोग गर्ने विषयमा पनि छलफल भइरहेको छ। तर त्यसको सट्टामा रक्सौल र बागडोग्रा क्षेत्रको उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न भारतले अनुमति मागेको विषय भने वार्ताकै क्रममा रहेको बताइएको छ।

यसका साथै भारतका विभिन्न सहरबाट पोखरा तथा अयोध्या–जनकपुरबीच सीधा हवाई सेवा सञ्चालन गर्ने विषयमा पनि सकारात्मक छलफल अघि बढेको छ।

नेपाललाई २ खर्ब भारुको आर्थिक सहायता प्रस्ताव

आर्थिक सहकार्यतर्फ भारत सरकारले नेपाललाई कुल २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने विषयमा गृहकार्य गरिरहेको स्रोतको दाबी छ।

प्रस्तावित प्याकेजमा १ खर्ब भारु सहुलियतपूर्ण ऋण र अर्को १ खर्ब भारु अनुदान रहने बताइएको छ। अनुदानअन्तर्गत ५० अर्ब भारु रसुवाको बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेसवे निर्माणमा खर्च गर्ने नेपालको प्रस्ताव छ।

यद्यपि, उक्त सहायता प्याकेजबारे अन्तिम निर्णय र औपचारिक सहमति हुन बाँकी छ।

रेलमार्ग र पेट्रोलियम पाइपलाइन पनि छलफलमा

भ्रमणका क्रममा अयोध्या–जनकपुर रेल सेवा सातामा एकपटक सञ्चालन गर्ने गरी दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने सम्भावना छ।

त्यसैगरी रक्सौल–काठमाडौं रेलमार्ग निर्माण तथा सीमापार पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि छलफल र सम्झौता हुने अपेक्षा गरिएको छ। यी परियोजना अघि बढेमा दुई देशबीचको यातायात, व्यापार र आर्थिक सम्बन्ध थप विस्तार हुने विश्वास गरिएको छ।

ऊर्जा र सिँचाइका विषयमा नेपालको प्राथमिकता

ऊर्जा तथा जलस्रोत क्षेत्रका विषय पनि भ्रमणको महत्वपूर्ण एजेन्डामा छन्। महाकाली तेस्रो सिँचाइ आयोजना सञ्चालनका लागि टनकपुर बाँधबाट १० क्युसेक पानी उपलब्ध गराउने विषयमा भारत सकारात्मक भएको बताइएको छ। यसबाट लामो समयदेखि अलपत्र रहेको सिँचाइ आयोजना सञ्चालनमा सहयोग पुग्ने अपेक्षा छ।

नेपालले माथिल्लो तामाकोसीलगायत चिनियाँ ठेकेदार संलग्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतले आयात गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। साथै, बंगलादेशमा विद्युत् निर्यातका लागि आवश्यक सहजीकरण गर्न भारतसँग आग्रह गरिनेछ।

महाकाली सन्धि भएको तीन दशक बितिसक्दा पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा समेत छलफल हुने सम्भावना छ। तर परियोजना कार्यान्वयनका लागि अझै उच्चस्तरीय राजनीतिक सहमति आवश्यक रहेको बताइएको छ।

सरकार गठनलगत्तै एक वर्षसम्म विदेश भ्रमण नगर्ने घोषणा गरेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभापछि संक्षिप्त कूटनीतिक भ्रमणलाई निरन्तरता दिँदै भारत भ्रमण गर्न लागेका हुन्।

करिब २५ घण्टाको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा लामो समयदेखि थाती रहेका विषयलाई कति हदसम्म सम्बोधन गर्छ भन्ने चासो बढेको छ। विशेषगरी हवाई रुट, आर्थिक सहायता, रेलमार्ग र ऊर्जा सहकार्यमा हुने सहमतिले भ्रमणको उपलब्धि निर्धारण गर्नेछ।

प्रकाशित मिति: २०८३ मंसिर १, मंगलवार १०:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !