भीमफेदी दुर्घटनाका मृतक १२ जनाको सुन्दरपुरमा सामूहिक अन्त्येष्टि

भीमफेदी दुर्घटनाका मृतक १२ जनाको सुन्दरपुरमा सामूहिक अन्त्येष्टि
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २८, शनिबार १२:३७
भीमफेदी दुर्घटनाका मृतक १२ जनाको सुन्दरपुरमा सामूहिक अन्त्येष्टि

सर्लाही : मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको छ।

दुर्घटनामा मृत्यु भएका १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमै ल्याएर सामूहिक अन्त्येष्टि गरिएको हो। सुन्दरपुरकै एक जना मृतक हाल सदरमुकाम मलंगवा नगरपालिका–४ मा बसोबास गर्दै आएका थिए। उनको शव मलंगवा–४ मै लगिएको र अन्त्येष्टि पनि त्यहीँ गरिएको जनाइएको छ।

ADVERTISEMENT

मृतकहरूको शव सुन्दरपुर ल्याइएपछि रातिसमेत श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो। आफन्त, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर गाउँ शोकमग्न बनेको थियो।

दुर्घटनामा आफ्नी गर्भवती श्रीमतीसहित परिवारका ६ जना गुमाएका अवधेश यादवले एक्लै दागबत्ती दिएका छन्। आफन्त गुमाएको पीडाबीच उनले परिवारका सदस्यहरूको अन्तिम संस्कार गरेका हुन्।

सामूहिक दाहसंस्कारमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। अन्त्येष्टिका क्रममा सुरक्षाकर्मीहरूले आवश्यक सहयोगसमेत गरेका थिए।

भीमफेदी दुर्घटनाले सर्लाहीको सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार १२:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !