सरकारको डर र भ्रमले विचलित हुन्नँ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

सरकारको डर र भ्रमले विचलित हुन्नँ : कांग्रेस सहमहामन्त्री शिवाकोटी
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १९, बिहीबार ११:४४
सरकारको डर र भ्रमले विचलित हुन्नँ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। धार्मिक यात्राका क्रममा काठमाडौं बाहिर रहेका शिवाकोटीलाई फोनमार्फत साइबर ब्युरोमा उपस्थित हुन भनिएको हो।

साइबर ब्युरोमा उपस्थित हुने बताएका शिवाकोटीले आफू सत्ताको भय र भ्रमबाट विचलित नहुने स्पष्ट पारेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले तर्साएर सत्ता चलाउन खोजेको आरोप लगाउँदै उनले आफू काठमाडौं फर्किरहेको बताएका छन्।

ADVERTISEMENT

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शिवाकोटीले सरकारको डर र भ्रमले आफू विचलित नहुने बताएका छन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’

शिवाकोटीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमार्फत सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन्।

साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो। सामाजिक सञ्जालमा खड्काका अभिव्यक्तिलाई लक्षित गर्दै उनले प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले जिम्मेवार रूपमा जवाफ दिनुपर्ने बताएका थिए।

यसैगरी, प्रहरी हिरासतमा रहेका भनिएका बिचौलिया इमन सापकोटाको बयानको अडियो रेकर्डबारे पनि शिवाकोटीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए।

सरकारको पछिल्लो कदमलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरिरहेका बेला शिवाकोटीलाई साइबर ब्युरोले बोलाएको घटनाले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहीबार ११:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !