गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक, सरकारविरुद्ध रणनीति बनाउने

गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक, सरकारविरुद्ध रणनीति बनाउने
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १९, बिहीबार ११:३६
गगन थापा पक्राउको चर्चाबीच कांग्रेस पदाधिकारी बैठक, सरकारविरुद्ध रणनीति बनाउने

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको अनौपचारिक बैठक बोलाएको छ।

पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा विवादित अडियो प्रकरण, सरकारका पछिल्ला कदम तथा सभापति थापाको पक्राउको चर्चाबारे छलफल हुने बताइएको छ।

ADVERTISEMENT

विचौलिया इमन सापकोटाले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई १८ करोड रुपैयाँ दिएर आधिकारिकता दिलाएको दाबीसहितको अडियो सार्वजनिक भएपछि कांग्रेसभित्र र बाहिर राजनीतिक बहस चर्किएको छ। कांग्रेसले भने उक्त अडियोलाई पूर्णतः कपोकल्पित र आधारहीन भन्दै खण्डन गर्दै आएको छ।

यसअघि कांग्रेसले ६ बुँदे खण्डन सार्वजनिक गरिसकेको छ। बुधबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत पैसा दिएर आधिकारिकता प्राप्त गरेको आरोप पुष्टि गर्न खुला चुनौती दिएका थिए।

कांग्रेस महामन्त्री डिला संग्रौलाले सरकारले नियतवश व्यक्तिलाई कोठाभित्र राखेर बयान लिँदै कपोकल्पित अडियो रेकर्ड गर्न लगाएको आरोप लगाएकी छन्। सरकार कांग्रेससहित अन्य राजनीतिक दलविरुद्ध पनि राजनीतिक षड्यन्त्रमा लागेको उनको दाबी छ।

सभापति थापाको पक्राउको चर्चासहित पछिल्लो राजनीतिक घटनाक्रम र सरकारविरुद्ध पार्टीले अपनाउने रणनीतिबारे आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकबाट कांग्रेसले आगामी राजनीतिक कदमबारे महत्त्वपूर्ण निर्णय लिन सक्ने सम्भावना छ।

प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहीबार ११:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !