खगेन्द्र सुनारको भनाइ : ‘ममाथि निष्पक्ष छानबिन होस्, सघाउन तयार छु’

खगेन्द्र सुनारको भनाइ : ‘ममाथि निष्पक्ष छानबिन होस्, सघाउन तयार छु’
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार ११:५६
खगेन्द्र सुनारको भनाइ : ‘ममाथि निष्पक्ष छानबिन होस्, सघाउन तयार छु’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न आग्रह गर्दै त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।

एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ADVERTISEMENT

सोमबार जनआस्थाले सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको अडियोसहितको समाचार सार्वजनिक गरेको थियो । त्यसपछि मंगलबार रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र उनीमाथि छानबिन अघि बढाइएको जानकारी दिएका थिए ।

त्यसपछि फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुनारले आफूमाथि उठेका प्रश्नको जवाफ दिन र पार्टी तथा राज्यका निकायबाट हुने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका हुन् ।

‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ उनले भनेका छन् ।

उनले आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुन र सांसद पदबाट निलम्बनमा पर्नसमेत तयार रहेको बताएका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई निरन्तर निशाना बनाइएको आरोपसमेत लगाएका छन् । पार्टीको कामको सिलसिलामा दाङमा रहेका उनले आफूले कुनै अपराध गरेको प्रमाणित भए कानुनी परिणाम भोग्न तयार रहेको बताएका छन् ।

‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लगाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन,’ उनले भनेका छन् ।

सुनारले सार्वजनिक भएको अडियोमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उक्त सामग्री बनावटी हुन सक्ने आशंका व्यक्त गरेका छन् । प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) वा आवाजको नक्कल गर्ने माध्यमबाट आफूलाई फसाउने प्रयास भएको हुन सक्ने उनको भनाइ छ ।

‘अहिले सामाजिक सञ्जालमा अडियो र भिडियो भन्दै जे सार्वजनिक गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन । त्यो पात्र म होइन,’ उनले भनेका छन् ।

उनले पार्टी र सरकारले आफूमाथि कुनै संरक्षण वा सहानुभूति नदेखाई निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘पार्टीले मलाई आफ्नै साथी भनेर संरक्षण गर्नुपर्दैन । सरकारले पनि ममाथि कुनै दया देखाउनुपर्दैन । मलाई दयाको भिक्षा चाहिएको छैन । ममाथि निष्पक्ष छानबिन होस्,’ सुनारले भनेका छन् ।

आफूले अपराध वा बदमासी गरेको प्रमाणित भए कानुनबमोजिमका सबै परिणाम भोग्न तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार ११:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !