रहबर अन्सारीको आरोप– नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर पीजी सिट लिइयो

रहबर अन्सारीको आरोप– नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर पीजी सिट लिइयो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १२:२५
रहबर अन्सारीको आरोप– नेशनल मेडिकल कलेजमा नक्कली बिरामी देखाएर पीजी सिट लिइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न तथा कलेज परिसरमा प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे।

ADVERTISEMENT

विद्यार्थीहरूले कलेजमा भइरहेको भनिएको अनियमितताविरुद्ध आवाज उठाएपछि प्रशासनले उनीहरूको आन्दोलन रोक्ने प्रयास गरेको अन्सारीको आरोप छ।

उनले नेशनल मेडिकल कलेजले करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् नियमित काममा नरहेका प्राध्यापक देखाएर पीजी सिट लिएको आरोप लगाए। चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षागार्डलाई समेत नक्कली बिरामी बनाएर इमर्जेन्सीमा राखेको दाबी उनले गरे।

‘करिब २५ जना फेक फ्याकल्टी मेम्बर देखाएर पीजी सिट लिइएको छ,’ अन्सारीले भने, ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदा त्यहीँका सुरक्षागार्डलाई बिरामी बनाएर इमर्जेन्सी हलमा राखिएको थियो।’

यस्ता गतिविधिमाथि राज्यले छानबिन गरी चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्नुपर्ने उनको भनाइ छ। अन्सारीले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै सम्बन्धित संस्थामाथि कारबाही हुन नसक्नुमा राज्यका विभिन्न निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाए।

उनले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय तथा स्थानीय प्रशासनका निकायमाथि समेत प्रभाव पारिएको दाबी गरे। यद्यपि, उनले लगाएका यी आरोपबारे सम्बन्धित कलेज वा अन्य सम्बन्धित निकायको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

अन्सारीले आफूले कुनै एउटा संस्थालाई लक्षित गरेर नभई चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्न विषय उठाएको स्पष्ट पारे।

उनका अनुसार आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन्। विद्यार्थीका माग सम्बोधन गर्दै उनीहरूको समस्या समाधान गर्न उनले सरकारसँग आग्रह गरे।

कलेज प्रशासनले आन्दोलनका कारण विद्यार्थीलाई होस्टेल खाली गर्न लगाएको र कलेजको गेटबाट प्रवेश गर्न रोक लगाएको आरोपसमेत अन्सारीले लगाएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !