गुठीको जग्गा खाली गराउन खोजेको भन्दै जनकपुरमा प्रदर्शन, ‘पहिले तथ्यांक र मुआब्जा देऊ’

गुठीको जग्गा खाली गराउन खोजेको भन्दै जनकपुरमा प्रदर्शन, ‘पहिले तथ्यांक र मुआब्जा देऊ’
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ९, शुक्रबार १६:५३
गुठीको जग्गा खाली गराउन खोजेको भन्दै जनकपुरमा प्रदर्शन, ‘पहिले तथ्यांक र मुआब्जा देऊ’

जनकपुरधाम : पुस्तौंदेखि गुठी तथा कुट्टीको जग्गामा बसोबास गर्दै आएका परिवारलाई अतिक्रमणकारीको संज्ञा दिँदै घरजग्गा खाली गराउन खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन भएको छ।

गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिको अगुवाइमा शुक्रबार जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। प्रदर्शनपछि समितिले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ।

ADVERTISEMENT

समितिका अध्यक्ष सन्तोष साहले पटक–पटक सरकारसमक्ष आफ्ना माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताए।

उनका अनुसार जनकपुरधाममा गुठी तथा कुट्टीको जग्गामा करिब ३० देखि ३५ हजार मानिसले पुस्तौंदेखि घर बनाएर बसोबास गर्दै आएका छन्। तर, सरकारले वास्तविक अवस्था र बसोबास गर्ने परिवारको यकिन तथ्यांक तयार नगरी उनीहरूलाई अतिक्रमणकारी भन्दै जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको समितिको आरोप छ।

‘पुस्तौंदेखि बस्दै आएका नागरिकलाई एकैपटक अतिक्रमणकारी भनेर घर भत्काउने कुरा स्वीकार्य हुँदैन,’ अध्यक्ष साहले भने, ‘पहिले गुठीको जग्गामा को–को बसोबास गरिरहेका छन् भन्ने यकिन तथ्यांक तयार गर्नुपर्छ।’

संघर्ष समितिले गुठीको जग्गामा बसोबास गरिरहेका परिवारको जग्गा यकिन गरी सरकारले आवश्यक मुआब्जा दिएर रैथानी नम्बरीमा परिणत गर्नुपर्ने माग अघि सारेको छ।

समितिका अनुसार उनीहरू गुठीको जग्गा अनधिकृत रूपमा कब्जा गर्न खोजिरहेका व्यक्ति नभई लामो समयदेखि त्यहीँ बसोबास गर्दै आएका परिवार हुन्। त्यसैले घरजग्गा खाली गराउनुअघि उनीहरूको बसोबास, स्वामित्वको अवस्था र पुस्तौंदेखिको सम्बन्धलाई समेत सरकारले अध्ययन गर्नुपर्ने समितिको माग छ।

अध्यक्ष साहले आफूहरूको माग सम्बोधन नगरी गुठीको जग्गा खाली गराउने प्रयास जारी राखिए आन्दोलन थप चर्काउने चेतावनी दिए।

‘हाम्रो माग सम्बोधन नगरी जबर्जस्ती जग्गा खाली गराउने प्रयास गरियो भने ठूलो आन्दोलन गर्न बाध्य हुन्छौं,’ उनले भने।

संघर्ष समितिले तत्काल सम्बन्धित निकायले सरोकारवालासँग वार्ता गरी गुठीको जग्गामा बसोबास गरिरहेका परिवारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १६:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !