१८ वर्ष ३ दिनमै धनुषाका यादव बने कांग्रेसका देशभरकै कान्छा क्षेत्रीय प्रतिनिधि

१८ वर्ष ३ दिनमै धनुषाका यादव बने कांग्रेसका देशभरकै कान्छा क्षेत्रीय प्रतिनिधि
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ९, शुक्रबार १०:२७
१८ वर्ष ३ दिनमै धनुषाका यादव बने कांग्रेसका देशभरकै कान्छा क्षेत्रीय प्रतिनिधि

जनकपुरधाम : धनुषाका १८ वर्षीय आदित्य नारायण यादव नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–११ मा सम्पन्न वडा अधिवेशनबाट यादव क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।

ADVERTISEMENT

जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै यादव १८ वर्ष ३ दिनको उमेरमा क्षेत्रीय प्रतिनिधि बनेका हुन्। यही जिम्मेवारीबाट उनले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका युवा नेता साधु गोइतका अनुसार यादव देशभरकै कान्छो क्षेत्रीय प्रतिनिधि हुन्।

गोइतले कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधि बन्न १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने बताए। ‘१८ वर्ष पूरा गरेको व्यक्तिमात्रै क्षेत्रीय प्रतिनिधि बन्न पाउने व्यवस्था छ,’ उनले भने, ‘आदित्य नारायण यादव १८ वर्ष ३ दिनको उमेरमै क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। त्यसैले उनी देशभरकै कान्छो क्षेत्रीय प्रतिनिधि भएको हाम्रो दाबी हो।’

वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएपछि यादवले पार्टीको संगठन निर्माणमा सक्रिय भएर काम गर्ने बताएका छन्।

युवा पुस्तालाई पार्टीको नेतृत्व र संगठनमा थप सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले युवाको ऊर्जा र नयाँ सोचलाई कांग्रेसको संगठन निर्माणमा उपयोग गर्नुपर्ने बताए।

यादवको चयनलाई कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १०:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !