मधेशमा सवारी लाइसेन्स वितरण सुरु, पहिलो चरणमा ३ हजार ८१ स्मार्ट कार्ड हस्तान्तरण

मधेशमा सवारी लाइसेन्स वितरण सुरु, पहिलो चरणमा ३ हजार ८१ स्मार्ट कार्ड हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार १७:२५
मधेशमा सवारी लाइसेन्स वितरण सुरु, पहिलो चरणमा ३ हजार ८१ स्मार्ट कार्ड हस्तान्तरण

जनकपुरधाम : मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ।

प्रदेशको श्रम तथा यातायात मन्त्रालयले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी पहिलो चरणमा छपाइ भएका ३ हजार ८१ वटा स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो।

ADVERTISEMENT

श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले विभिन्न जिल्लाका यातायात व्यवस्था कार्यालय प्रमुखहरूलाई लाइसेन्स हस्तान्तरण गर्दै वितरण कार्यको सुरुवात गरेकी हुन्।

मन्त्रालयका अनुसार पहिलो चरणमा राजविराजका लागि ५२, सिरहाका लागि ४६०, महोत्तरीका लागि ३०३, धनुषाका लागि ९३२, सर्लाहीका लागि ३२, रौतहटका लागि ११९, बाराका लागि ११ र पर्साका लागि १ हजार १७२ वटा स्मार्ट कार्ड हस्तान्तरण गरिएको छ।

मन्त्री थापाले सातै प्रदेशमध्ये पहिलोपटक मधेश प्रदेशले आफ्नै स्तरबाट स्मार्ट कार्ड छपाइ गरी वितरण सुरु गरेको भन्दै खुसी व्यक्त गरिन्।

उनले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको केही दिनभित्रै सम्बन्धित कार्यालयले स्मार्ट कार्ड स्थानीय तहमा पठाउने व्यवस्था गरिएको जानकारी दिइन्। यससँगै सेवाग्राहीले आफ्नै पालिकाबाट लाइसेन्स प्राप्त गर्न सक्ने उनले बताइन्।

जनताको सुविधालाई मध्यनजर गर्दै लाइसेन्स वितरण प्रक्रियालाई सहज बनाउन प्रदेश सरकारले पहल गरेको मन्त्री थापाको भनाइ छ।

उनले अब घण्टौँसम्म लाइनमा बसेर वर्षौँसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता हट्ने दाबी गर्दै सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताइन्।

मन्त्रालयले पहिलो चरणमा छपाइ भएका कार्ड सम्बन्धित जिल्लामा पठाएर वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार १७:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !