१७ हजारमा चोरीको मोटरसाइकल किनेर रिकन्डिसनमा लुकाउने ३ जना पक्राउ

१७ हजारमा चोरीको मोटरसाइकल किनेर रिकन्डिसनमा लुकाउने ३ जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३, शनिबार १०:४८
१७ हजारमा चोरीको मोटरसाइकल किनेर रिकन्डिसनमा लुकाउने ३ जना पक्राउ

काठमाडौं : काठमाडौंमा मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर लुकाउने ३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-४ घर भई ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी र २३ वर्षीय आशिष गुरुङ तथा मकवानपुरको बागमती गाउँपालिका-१ घर भई बनस्थली बस्ने २२ वर्षीय सन्देश बल रहेका छन्।

ADVERTISEMENT

गत साउन १८ गते काठमाडौंको नागार्जुन नगरपालिका-१, श्रीनगरबाट बा ८७ प ९२० नम्बरको मोटरसाइकल चोरी भएको थियो। गोरखाका विनक श्रेष्ठले आफ्नो मोटरसाइकल हराएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले शुक्रबार दिउँसो गुहेश्वरीस्थित ‘ड्रिम बाइक रिकन्डिसन’ भित्र नम्बर परिवर्तन गरेर लुकाइराखेको अवस्थामा उक्त मोटरसाइकल फेला पारेको हो। वास्तविक नम्बर परिवर्तन गरी त्यसमा बा ८० प १४३७ नम्बर राखिएको थियो।

मोटरसाइकलसहित रिकन्डिसनबाट पुरकुटी र गुरुङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले उक्त मोटरसाइकल सन्देश बलसँग जम्मा १७ हजार रुपैयाँमा किनेको बयान दिएका थिए। उनीहरूकै बयानका आधारमा प्रहरीले शुक्रबार नै काठमाडौंको रानीबारीबाट बललाई पनि पक्राउ गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ।

यसैबीच, ट्राफिक प्रहरीले एकान्त स्थानमा पार्किङ नगर्न र ह्विल लक, डिस्क लक, ह्यान्डल लक तथा साइरन जडान गरी आफ्नो सवारीसाधन सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सवारीसाधन हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार १०:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !