तस्करीमा ‘लाइन’ दिएको भन्दै खजुरीका इन्स्पेक्टर दिनेश बहादुर कुँवरमाथि छानबिन सुरु

तस्करीमा ‘लाइन’ दिएको भन्दै खजुरीका इन्स्पेक्टर दिनेश बहादुर कुँवरमाथि छानबिन सुरु
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २, शुक्रबार १३:१४
तस्करीमा ‘लाइन’ दिएको भन्दै खजुरीका इन्स्पेक्टर दिनेश बहादुर कुँवरमाथि छानबिन सुरु

जनकपुरधाम : भारतबाट अवैध सामान भित्र्याउन ‘लाइन’ दिएको र त्यसबापत तस्करसँग मासिक रकम बुझ्ने गरेको आरोप लागेपछि धनुषास्थित इलाका प्रहरी कार्यालय, खजुरीका इन्स्पेक्टर दिनेशबहादुर कुँवरमाथि छानबिन सुरु भएको छ।

गत साता एक तस्करले इन्स्पेक्टर कुँवरलाई मासिक ८ हजार रुपैयाँ बुझाउने गरेको दाबी गरेको भिडियो मधेशपत्रले सार्वजनिक गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले छानबिन अघि बढाएको हो।

ADVERTISEMENT

उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

इन्स्पेक्टर कुँवरमाथि छानबिन भइरहेको पुष्टि गर्दै डीएसपी खनालले सार्वजनिक भिडियोमा गरिएको दाबीको सत्यताबारे अनुसन्धान भइरहेको बताए।

‘खजुरी क्षेत्रका सीमानाकाबाट मोटरसाइकलमा अवैध सामान भित्र्याउन लाइन दिएको र त्यसबापत मासिक ८ हजार रुपैयाँ लिने गरेको दाबीसहितको भिडियो सार्वजनिक भएको छ,’ डीएसपी खनालले भने, ‘उक्त भिडियोमा गरिएको दाबी कति सत्य हो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको छ।’

स्थानीयले पनि इन्स्पेक्टर कुँवरमाथि अन्य व्यापारी तथा तस्करहरूसँग हप्ता असुल्ने गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गरिएको दाबी र स्थानीयका आरोपबारे छानबिन भइरहेको भए पनि इन्स्पेक्टर कुँवरमाथि लागेका आरोप पुष्टि भइसकेका छैनन्।-नेपालप्रेस

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !