धनुषाकी ‘चाची’ भारतीय प्रहरीद्वारा सार्वजनिक,परिवारविरुद्ध सातभन्दा बढी एफआईआर दर्ता

धनुषाकी ‘चाची’ भारतीय प्रहरीद्वारा सार्वजनिक,परिवारविरुद्ध सातभन्दा बढी एफआईआर दर्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १, बिहीबार १५:१८
धनुषाकी ‘चाची’ भारतीय प्रहरीद्वारा सार्वजनिक,परिवारविरुद्ध सातभन्दा बढी एफआईआर दर्ता

जनकपुरधाम : ‘चाची’ नामले परिचित धनुषाको विदेह नगरपालिका-२ दुहबीकी हिरा महासेठ देवीलाई भारतीय प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी मुख्यालय, मधुबनी बिहारले उनलाई सार्वजनिक गरेको हो ।

सो मुख्यालयका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमारले ६७ वर्षीया ‘चाची’ लाई भारतको मधुबनीस्थित बासोपट्टी क्षेत्रबाट सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा पक्राउ गरेको बताए । एसपी कुमारका अनुसार ४८औँ वाहिनी सशस्त्र सीमा बल जयनगरको समन्वयमा जानकीनगर र बिहार प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा मंगलबार राति करिब १२ः३० बजे उनलाई पक्राउ गरेको थियो ।

ADVERTISEMENT

‘चाची’लाई अन्तर्राष्ट्रिय सीमा स्तम्भ नम्बर अर्थात् पिलर २७७/४६ बाट करिब १० मिटरभित्र भारतीय क्षेत्रमा पर्ने दुबही बजार नजिकैबाट नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउका क्रममा एसएसबी ४८औँ वाहिनीका सहायक कमान्डेन्ट पारस राठी र बासोपट्टी प्रहरी थानाका प्रमुख प्रहरी उपनिरीक्षक कार्तिक भगत नेतृत्वको टोली परिचालन भएको थियो । ‘चाची’ माथि भारतीय कानुनको भाषामा ‘आदतन अपराधी’ (पटके अपराधी) तथा लामो समयदेखि फरार अभियुक्तका रूपमा उल्लेख गरिएको छ ।

चाचीको परिवारमाथि भारतमा आधा दर्जनभन्दा बढी मुद्दा दर्ता भएको पाइएको छ । ‘चाची’, उनका श्रीमान् भरत महासेठ र छोरा राजीव महासेठलगायतमाथि ‘एफआईआर’ दर्ता भएको पाइएको हो । चाचीविरुद्ध तस्करीसँग सम्बन्धित विभिन्न मुद्दा तथा ‘प्राथमिकी’ दर्ता रहेको भारतीय प्रहरीको भनाइ छ । उनका श्रीमान् राजीवमाथि लागूऔषध, जाली भारतीय नोट (एफआईसीएन), मदिरा तथा अन्य प्रतिबन्धित वस्तुको तस्करीमा संलग्न रहेको आरोप छ ।

भारतीय प्रहरीका अनुसार ‘चाची’लाई लामो समयदेखि निगरानीमा राखिएको थियो । नेपालको विभिन्न स्थानमा बस्दै आएकी उनी पक्राउ परेको दिन चौरचन अर्थात् चौठीचान्द पर्व मनाउन घर आएको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको हो ।

एसपी कुमारले उनीमाथि चारवटा ‘एफआईआर’ अर्थात् मुद्दा दर्ता भएको बताए पनि भारत बिहारका विभिन्न थानामा सातवटाभन्दा बढी मुद्दा दर्ता रहेको नेपाल प्रेसले फेला पारेको छ ।

नेपाल प्रेसको सम्पर्कमा आएका भारतको बिहार राज्यको ‘स्टेट क्राइम रेकर्डस् ब्यूरो बिहार’का एक प्रहरी अधिकृतले ‘चाची’ अर्थात् हीरादेवी महासेठ, उनका श्रीमान् भरत महासेठ र उनका छोरा राजीव महासेठ सहितमाथि सातवटाभन्दा बढी ‘एफआईआर’ दर्ता रहेको बताएका छन् ।

ती अधिकृतका अनुसार उनीहरूमाथि लागूऔषध तथा विभिन्न प्रतिबन्धित सामग्रीको तस्करी, जाली भारतीय मुद्रा ‘एफआईसीएन’ अर्थात् नक्कली भारु नोटको अवैध कारोबारलगायत अन्य गैरकानुनी वस्तुको तस्करी एवं ओसारपसारका मुद्दा रहेका छन् । ब्यूरोमा रहेको रेकर्ड अनुसार सन् २०२३ मा बिहारको बासोपट्टी थानामा दुईवटा ‘एफआईआर’, सन् २०२५ मा एउटा ‘एफआईआर’ रहेको पाइएको छ । त्यस्तै, बासोपट्टी थानामै सन् २०२६ मा थप दुईवटा ‘एफआईआर’ दर्ता भएको छ ।

त्यस्तै, बिहारको सीतामढी जिल्लाको भिठ्ठा थानामा एक र मधुबनी जिल्लाको मधवापुर थानामा सन् २०२६ मै एक गरी दुईवटा एफआईआर दर्ता रहेको पाइएको छ । अर्थात् दुई जिल्लाका तीन थानामा सन् २०२६ मा मात्रै चारवटा मुद्दा दायर भएको छ । ती मुद्दामा ‘चाची’ अर्थात् हीरा देवी महासेठ, उनका श्रीमान् भरत महासेठ र छोरा राजीव महासेठलाई समेत प्रतिवादी बनाइएको छ ।

भरत महासेठ र हिरादेवी महासेठका पाँचजना छोरा रहेका छन् । पाँचैजना छोरा आपराधिक गिरोहमा सक्रिय रहेको भारतीय प्रहरीको दाबी छ । मधुबनी जिल्लाको जयनगर थानाका उपविभागीय प्रहरी अधिकारी अर्थात् डीएसपी सदानन्द कुमारका अनुसार बाँकीको हकमा अनुसन्धान चलिरहेको छ । अरूमाथि पनि बिहार प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । मुद्दाको प्रकृतिअनुसार अन्य विभागका अनुसन्धान अधिकारीहरूले समेत अनुसन्धान थाल्ने उनले बताए । उनका अनुसार अझै केहीको खोजी कार्य जारी रहेको छ ।

भारतीय प्रहरीले महासेठ पक्राउ परेपछि उनको आपराधिक पृष्ठभूमि र सीमापार तस्करीसँगको सम्भावित सम्बन्धबारे विभिन्न सुरक्षा तथा अनुसन्धान निकायले समेत सोधपुछ गरेका छन् ।

महासेठ परिवारमाथि सन् २०२६ मै अधिक मुद्दा दर्ता भएको पाइएको छ । नेपाल प्रेससँग कुरा गर्दै एक अनुसन्धान अधिकारीले ‘चाची’ले सन् २०२४ र २०२५ मा भारतीय नक्कली नोट र अवैध सामग्रीको तस्करी अधिक मात्रामा गरेको देखिएको बताए । सोही समयमा नेपाल र भारतका सुरक्षाकर्मीको ‘लाइन’ मिलाएर तस्करीलाई पिकमा पुर्‍याएको पाइएको उनको दाबी छ ।

अधिकारीका अनुसार नेपाल र भारतका सुरक्षा निकायको भूमिका र अवैध कारोबार गर्नेहरूको ‘नेक्सस’ तथा सीमा क्षेत्रमा सक्रिय तस्करी नेटवर्कमाथि पनि गहन अनुसन्धान भइरहेको छ ।

गत एक महिनाअघि चाचीका श्रीमान् भरत महासेठ ५० हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए । उनीसँगै शिवकुमार राउतसमेत पक्राउ परेका थिए । यी दुवैसँग ५०० दरका १०० वटा भारतीय नक्कली नोट फेला परेको भारतीय प्रहरीको दाबी छ ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार १५:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !