बीपी साहको धर्नामा प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण

बीपी साहको धर्नामा प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३०, मंगलवार १५:१९
बीपी साहको धर्नामा प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण

सबैला (धनुषा) : सबैला नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको माग राख्दै धर्नामा बस्दै आएका अभियानकर्ता बीपी साहको मागप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण भएको छ।

पछिल्लो स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासी रहेका साहले सबैला नगरपालिकामै राष्ट्रिय परिचयपत्र दर्ता हुनुपर्ने र तयार भइसकेका परिचयपत्रहरू सोही स्थानबाटै वितरण गरिनुपर्ने माग राख्दै निरन्तर दबाब दिँदै आएका थिए।

ADVERTISEMENT

नगरवासीलाई राष्ट्रिय परिचयपत्र बनाउन जनकपुरधाम धाउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूको समय तथा आर्थिक भार बढ्दै गएको साहको भनाइ छ। सो समस्या समाधानका लागि साहले सुरुमा मेयर कारिराम यादवलाई मौखिक आग्रह गरेका थिए। तर, मेयरले ठोस चासो नदेखाएपछि उनले गत साउन २६ गते ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझाउँदा समेत पालिका स्तरमा परिचयपत्र दर्ताको व्यवस्था नभएपछि साहले भदौ ९ गते मंगलबार नगरपालिका प्राङ्गणमा एकल धर्ना सुरु गरे। त्यसपछि पनि सुनुवाइ नभएपछि भदौ १८ गते दोस्रो पटक धर्ना बसेका थिए, जहाँ मेयर यादव र उनीबीच चर्काचर्की परेको थियो। माग पूरा नभएपछि साह भदौ २६ गते तेस्रो पटक धर्नामा बसेका थिए।

पटक-पटकको धर्ना र दबाबपछि पनि नगर नेतृत्वले बेवास्ता गरेपछि साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको ‘हेलो सरकार’ मा उजुरी दर्ता गराएका थिए। उजुरी परेसँगै प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको छ र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिएको छ।

“वृद्धवृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोकियोस् भन्नका लागि मेरो यो आन्दोलन हो,” अभियानकर्ता साहले भने, “राष्ट्रिय परिचयपत्र नभएकै कारण भत्ता कार्ड नवीकरण हुन सकेको छैन। कार्ड नवीकरण नभए उहाँहरूले भत्ता पाउनुहुन्न।”

यस्तै, परिचयपत्रको अभावमा धेरै नगरवासीको बैंक खाता रोक्का भएको र अन्यको पनि रोक्का हुने क्रममा रहेको साहले बताए। “मेयर साहेबले कि त आफ्नै हस्ताक्षरमा रोक्का भएका खाताहरू फुकुवा गराउने पहल गरिदिनुपर्‍यो, नभए पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिलाउने व्यवस्था मिलाउनुपर्‍यो,” उनले थपे। सवारी चालक अनुमति पत्र नवीकरण गर्न, नयाँ बनाउन तथा मतदाता परिचयपत्र तयार पार्न समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले पालिकामै सो सुविधा सहज रूपमा उपलब्ध गराउनुपर्ने साहको माग छ।

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १५:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !