नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ लाई दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ लाई दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३०, मंगलवार १५:०३
नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ लाई दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : नक्कली भारतीय मुद्रा (भारु) कारोबारमा संलग्न धनुषाकी हिरादेवी महासेठ ‘चाची’ लाई भारतीय प्रहरीले पक्राउ गरेको छ। सोमबार राति करिब पौने १२ बजे नेपाल–भारतको दुहवी दशगजा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।

धनुषा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भारतीय सुरक्षा निकायले नेपाल–भारतको दशगजा क्षेत्रबाट एक नेपाली महिलालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । उनले धनुषाको बिदेह नगरपालिका-२ दुहवी निवासी हिरादेवी महासेठलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बुझिएको बताए ।

ADVERTISEMENT

खनालका अनुसार केही समयअघि हिरादेवीका श्रीमान् भरत महासेठ नक्कली भारतीय रुपैयाँसहित बिहारमा पक्राउ परेका थिए । त्यही ‘नेक्सस’मा हिरादेवीलाई पनि नियन्त्रणमा लिइएको हुनसक्ने आशंका उनको छ ।

करिब एक महिनाअघि बिहारको मधुवनी जिल्लास्थित बासोपट्टी थाना क्षेत्रको दुहवी बजारमा विशेष कार्यदल (एसटीएफ) र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले नक्कली भारतीय नोटको कारोबार हुँदै गरेको सूचनाको आधारमा छापा मारेको थियो। सोही क्रममा किराना सामग्रीको कारोबार गर्दै आइरहेका धनुषाको बिदेह नगरपालिकाका राजीव महासेठका बुबा भरत महासेठ र उनका सहयोगी शिवकुमार राउतलाई नियन्त्रणमा लिइएको थियो।

उनीहरू लामो समयदेखि विदेशीसँग मिलेर भारतीय नक्कली मुद्रा कारोबार गरिरहेको सूचना भारतीय प्रहरीसमक्ष पुगेको स्रोतको भनाइ छ । पहिले महासेठ र सहयोगी राउतसँग ५० हजार रुपैयाँ बराबरको नक्कली भारतीय नोट बरामद भएको थियो। सोही ‘नेक्सस’मा भारतीय प्रहरीले राजीव महासेठकी आमा हिरादेवी महासेठ ‘चाची’ लाई नियन्त्रणमा लिएको भारतीय प्रहरीले बताएको छ।

मधेश पत्रकर्मीसंग एक भारतीय अनुसन्धान अधिकृतले बताएअनुसार लामो समयदेखि उनीहरू भारतीय नक्कली नोटको कारोबार गरिरहेको सूचना भारतीय प्रहरीसमक्ष थियो । यसैको आधारमा गत अगष्ट महिनामा विश्वसनीय सूचनाका आधारमा उनीहरूमाथि कारबाही अघि बढाइएको र ५०० सयको दरका ५० भारतीय रुपैयाँ बराबरका नक्कली नोट सहित पक्राउ गरेको ती अनुसन्धान अधिकृतको दावी छ ।

जयनगरका डीएसपी सदानन्द कुमारले भरत र शिवलाई सार्वजनिक गर्ने क्रममा पक्राउ परेका व्यक्तिहरूसँग विभिन्न कोणबाट सोधपुछ भइरहेको र सञ्जालबारे पनि अध्ययन भइरहेको प्रतिक्रिया दिए । उनले नक्कली नोट कहाँबाट ल्याइएको र कुन–कुन क्षेत्रमा फैलाउने तयारी थियो भन्ने पत्ता लगाउन उनीहरूको मोबाइल फोन, सम्पर्क सूत्र र बैंकिङ कारोबारका कागजातहरू पनि जाँच भइरहेको बताएका छन् ।

‘महासेठ’ परिवार नै शंकाको घेरामा

‘चाचीको टोली’ भनेर चिनिने महासेठको सिंगो परिवार नै अवैध कारोबारमा संलग्न रहेको आशंका छ। उनीहरूको परिवार प्रहरीसँगको लाइन मिलाउने, रकम दिने–लिने कार्यमा संलग्न रहेको अनुसन्धान अधिकृतहरूले दावी गरेका छन् ।

अधिकृतका अनुसार राजीवकी आमा हिरादेवी महासेठ भारतबाट अवैध रूपमा ‘ब्लेकिया’मार्फत भित्रिएको सामान कहाँ पुर्‍याउने, कसरी पुर्‍याउने भन्ने जिम्मेवारीमा छिन् भने बुवा भरत महासेठले भारतबाट सामान किनमेल गर्ने गरेका थिए । उनीहरूले मुख्यतः किरानाका विविध सामान ओसारपसार गर्ने गरेको प्रहरी रेकर्डमा छ। त्यसमा काजु, चिनी, रजनीगन्धा, मरिच, सुपारी, मदिरासहितका सरसामान छन् ।

हीरादेवीका छोरा राजीव महासेठ पनि विवादित व्यक्ति हुन् । मधेश प्रदेशका धनुषा, महोत्तरी र सिरहाका नाकाहरू निर्बाध रूपमा खुला गराउन राजीवले माथिल्लो ओहोदाका प्रहरी अधिकारीहरूसँग ‘लाइन मिलाउने’ गरेको आरोप लाग्दै आएको छ । उनी हाल फरार रहेको प्रहरी स्रोतको दावी छ ।-नेपालप्रेस

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १५:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !