जलवायु संकट र भोटेकोशी बाढीको समीक्षा गर्न घरपझोङ सम्मेलन

जलवायु संकट र भोटेकोशी बाढीको समीक्षा गर्न घरपझोङ सम्मेलन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३०, मंगलवार १२:५३
जलवायु संकट र भोटेकोशी बाढीको समीक्षा गर्न घरपझोङ सम्मेलन

मुस्ताङ : जलवायु परिवर्तनका कारण देखिएका असर, चुनौती तथा न्यूनीकरणका उपायबारे छलफल गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ सुरु भएको छ।

गाउँपालिकाको आयोजनामा मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुभयो।

ADVERTISEMENT

उद्घाटन समारोहअघि जोमसोमस्थित गाउँपालिका कार्यालयमा भेला भएका सातै प्रदेशका जनप्रतिनिधि तथा अतिथिहरू सांस्कृतिक झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए।

सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो।

सम्मेलनमा विभिन्न जिल्लाका डेढ दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। उनीहरूले हिमाल, पहाड तथा तराई क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका बहुआयामिक प्रभावबारे धारणा राख्नेछन्।

बढ्दो हरितगृह ग्यास उत्सर्जनका कारण तापक्रम वृद्धिसँगै कृषि, पशुपालन, पर्यटन, पूर्वाधार तथा पर्यावरण क्षेत्रमा सिर्जित जोखिम र त्यसबाट जोगिन अपनाउनुपर्ने अनुकूलनका उपाय सम्मेलनका प्रमुख एजेन्डा रहेका छन्।

यस्तै, भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको समेत सम्मेलनमा समीक्षा गरिने आयोजकले जनाएको छ।

जलवायु संकट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनुपर्ने भावी रणनीति तय गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको समापनमा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १२:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !