धनुषामा अपहरित १५ महिने बालक ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा अपहरित १५ महिने बालक ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३०, मंगलवार १२:३७
धनुषामा अपहरित १५ महिने बालक ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ

जनकपुरधाम : धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिने बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेका बेला बेपत्ता भएका थिए।

ADVERTISEMENT

बालक हराएको सूचना पाएलगत्तै प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो। खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको प्रहरी टोली खटाइएको थियो। प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी घटनास्थल तथा आसपासका क्षेत्रमा व्यापक खोजतलास गरेको जनाएको छ।

घटनाको अनुसन्धानका लागि डीएसपी ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमान्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको डीएसपी खनालले बताए।

प्रहरीका अनुसार शंकित महिलाले बालकलाई पटक–पटक स्थान परिवर्तन गर्दै नेपाल र भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। त्यसपछि धनुषाका विभिन्न नाकामा २४ घण्टा प्रहरी परिचालन गर्नुका साथै प्राविधिक अनुसन्धानमार्फत उनको खोजी तीव्र पारिएको थियो।

प्रहरीले खोजी तथा घेराबन्दी तीव्र पारेपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे ती महिलाले बालकलाई आफ्नो घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्।

प्रहरी टोलीले तत्काल बालकको उद्धार गरी स्वास्थ्य परीक्षण गराएपछि अभिभावकको जिम्मा लगाएको जनाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई सोही दिन साँझ करिब ३ः४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १२:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !