शिलान्यासको ९ महिनामै १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न

शिलान्यासको ९ महिनामै १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २८, आईतवार १२:४६
शिलान्यासको ९ महिनामै १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं : एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गरिरहेको १८ किलोमिटर प्रसारण लाइनको काम शिलान्यास भएको नौ महिनामै सम्पन्न गरेको छ। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ स्थित निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको एमसीए–नेपालले जनाएको छ।

ADVERTISEMENT

तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा उक्त प्रसारण लाइनको शिलान्यास गरेका थिए।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको तत्कालीन विद्युत् आवश्यकता र प्रसारण प्रणालीको अवस्थालाई ध्यानमा राख्दै निर्माण कार्यलाई तीव्रता दिइएको बताए।

एमसीए–नेपालले भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। १ करोड २३ लाख ८० हजार अमेरिकी डलर लागतमा २१ महिनाभित्र आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा निकै अगावै निर्माण सम्पन्न भएको हो।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि वैदेशिक सहायता कार्यक्रमको समीक्षा गर्दै केही समयका लागि सहायता रोकिएपछि आयोजनाको कार्यान्वयनसमेत प्रभावित भएको थियो।

बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको नेपालतर्फ पर्ने १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएसँगै नेपालतर्फको दोस्रो सीमापार प्रसारण लाइनको खण्डसमेत तयार भएको छ।

एमसीसीको अनुदानअन्तर्गत नेपालमा कुल ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ। यसअन्तर्गत थप तीन प्याकेजका लागि ठेक्का सम्झौता भइसकेको छ।

यसैगरी, ४०० केभी क्षमताकै विद्युत् सबस्टेसन निर्माण तथा सडक सुधारसम्बन्धी आयोजनासमेत एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार १२:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !