सुरुङभित्र थुप्रिएको सामग्री हटाउन ३–४ महिना लाग्न सक्ने सेनाको आकलन

सुरुङभित्र थुप्रिएको सामग्री हटाउन ३–४ महिना लाग्न सक्ने सेनाको आकलन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १७, बुधबार १३:१३
सुरुङभित्र थुप्रिएको सामग्री हटाउन ३–४ महिना लाग्न सक्ने सेनाको आकलन

काठमाडौं : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य सामग्री हटाएर खोज तथा उद्धार कार्य अघि बढाउन तीनदेखि चार महिनासम्म लाग्न सक्ने नेपाली सेनाले जनाएको छ।

धुन्चे उत्तरको फिल्ड अपरेसन कमाण्डको जिम्मेवारी सम्हालिरहेका सेनाका अधिकारी उज्वलविक्रम राणाले सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेको भन्दै केही दिनमै सबै सामग्री हटाएर सहज रूपमा उद्धार गर्न सकिने अवस्था नरहेको बताए।

ADVERTISEMENT

उनका अनुसार सुरुङभित्र थुप्रिएको सामग्रीको मात्रा र अवस्थालाई हेर्दा त्यसलाई पूर्ण रूपमा हटाउन तीनदेखि चार महिनासम्म लाग्न सक्ने देखिएको छ।

‘टनेलभित्र जम्मा भएका सबै सामग्री दुई–तीन दिनमै निकाल्न सकिने सम्भावना देखिँदैन। मैले देखेको अवस्थाअनुसार तीनदेखि चार महिनामा पनि सबै निकाल्न नसकिने अवस्था छ,’ राणाले भने।

उनका अनुसार सेनाको जिम्मेवारी क्षेत्रमा जलविद्युत् आयोजनाका चारवटा सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोज तथा उद्धार कार्य अघि बढाउन कठिन भएपछि तत्कालका लागि काम रोकिएको छ।

सुरुङको तल्लो भाग पानी तथा अन्य सामग्रीले भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नरहेको देखिएपछि आयोजनाका इन्जिनियरसँग समन्वय गरेर उद्धार प्रयास रोकिएको राणाले बताए।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भने खोज तथा उद्धार कार्य जारी रहेको छ। अझै कोही जीवित व्यक्ति भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै टोली परिचालन गरिएको सेनाले जनाएको छ।

त्यस्तै, लाङटाङतर्फको सुरुङमा सेना करिब ६४ मिटरभित्रसम्म प्रवेश गरेको थियो। त्यसपछि सुरुङ क्रमशः साँघुरिँदै गएर मानिस प्रवेश गर्नसमेत कठिन हुने अवस्था देखिएपछि थप अगाडि बढ्न नसकिएको सेनाले जनाएको छ।

सुरुङभित्र करिब दुई फिट मात्र खाली स्थान रहेकाले घिस्रिएर प्रवेश गर्नुपर्ने अवस्था रहेको र यसले उद्धार टोलीका लागि थप जोखिम बढाएको राणाको भनाइ छ।

यसैबीच, २१६ नम्बरको सुरुङमा पनि बुधबारदेखि पुनः खोज तथा उद्धार प्रयास थालिएको छ। यसअघि पाँच पटकसम्म सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिए पनि छातीसम्म आउने गरी माटो, ढुंगा तथा अन्य सामग्री जमेकाले टोली अगाडि बढ्न सकेको थिएन।

बाढीपहिरोबाट टिमुरे र स्याफ्रुबेंसी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको सेनाले जनाएको छ। नदी तथा खोलाको बहावले कतिपय क्षेत्रमा पाँच मिटरसम्मको तहमा क्षति पुर्‍याएको र स्याफ्रुबेंसीको आधाभन्दा बढी बस्ती बगाएको अवस्थामा देखिएको अधिकारीले बताए। टिमुरेमा पनि ठूलो क्षति पुगेको छ।

बाढीपहिरोका कारण सडक तथा सञ्चार सम्पर्क विच्छेद भएपछि प्रभावित क्षेत्रमा आवतजावत तथा उद्धारका लागि हाल हवाई माध्यम प्रमुख विकल्प बनेको छ।

‘सडकको समस्या छ, खोलाले सबै बाटो बगाएको छ। त्यसैले मेसिन लैजान सकिएको छैन। तर मेसिन पुर्‍याउन सकिए पनि टनेलभित्र जमेको सामग्रीको अवस्था हेर्दा दुई–तीन दिनमै काम सकिने अवस्था छैन,’ राणाले भने।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार १३:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !