‘कुन बजेट हो, थाहा छैन’ : मन्त्रालयका सचिव अनभिज्ञ, मन्त्रीले गरे मन्दिरको शिलान्यास

‘कुन बजेट हो, थाहा छैन’ : मन्त्रालयका सचिव अनभिज्ञ, मन्त्रीले गरे मन्दिरको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार १७:०८
‘कुन बजेट हो, थाहा छैन’ : मन्त्रालयका सचिव अनभिज्ञ, मन्त्रीले गरे मन्दिरको शिलान्यास

जनकपुरधाम : रसुवाको गढी क्षेत्रमा आएको विनाशकारी बाढीले देश शोकमा डुबिरहेका बेला मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा भने मन्दिर शिलान्यासमा व्यस्त देखिएका छन्।

सोमबार धनुषाको कमला नगरपालिका–५, लक्क्डस्थित कमला माई मन्दिरको शिलान्यास मन्त्री तत्माले गरेका हुन्।

ADVERTISEMENT

तर, मन्दिर निर्माणका लागि बजेट कति हो, बजेटको स्रोत के हो र कुन मन्त्रालय वा निकायको योजनाअन्तर्गत निर्माण हुन लागेको हो भन्ने विषयमा स्पष्टता छैन।

झन् रोचक त के छ भने मन्त्रीले शिलान्यास गरेको उक्त योजनाबारे सम्बन्धित खेलकुद तथा समाज कल्याण मन्त्रालयकै अधिकारी अनभिज्ञ छन्।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुशीलकुमार साह तेलीका अनुसार मन्त्रालयबाट हालसम्म कुनै पनि विकासीय गतिविधि सुरु भएको छैन।

‘अहिले मन्त्रालयको कुनै पनि विकासीय गतिविधि सुरु भएको छैन। स्वीकृत योजनाहरू सञ्चालन गर्न आवश्यक कार्यविधि बनाउने काम भइरहेको छ,’ सचिव तेलीले भने।

मन्त्री तत्माले शिलान्यास गरेको मन्दिर कुन बजेटबाट निर्माण हुन लागेको हो भन्नेबारे पनि मन्त्रालयलाई जानकारी नभएको उनले स्पष्ट पारे।

‘मन्त्रीज्यूले कहाँको बजेट र कुन मन्त्रालयको बजेट हो भन्ने हामीलाई थाहा छैन। मन्त्रीज्यू निजी बजेटबाट बनाउन लाग्नुभएको हो कि कुनै संस्थाको बजेट हो भन्ने पनि हामीलाई थाहा छैन,’ सचिव तेलीले भने।

मन्त्रीले गरेको शिलान्यास कार्यक्रम र प्रदेश सरकारको योजना संचालन प्रक्रियाबीचको समन्वयमाथि प्रश्न खडा गरेको छ।

सरकारी योजनाअन्तर्गत निर्माण हुने संरचनाका लागि बजेटको स्रोत, स्वीकृति, कार्यान्वयन गर्ने निकाय तथा आवश्यक प्रक्रिया स्पष्ट हुनुपर्ने हुन्छ। तर, सम्बन्धित मन्त्रालयकै निमित्त प्रदेश सचिवले बजेट र योजनाबारे जानकारी नभएको बताएपछि मन्दिर निर्माणको योजना कुन प्रक्रियाबाट अघि बढाइएको हो भन्ने प्रश्न उठेको छ।

उता,भाद्र १० गते रसुवाको भोटेकोशी नदिमा आएको बिनासकारी बाढीले ठूलो क्षति पुर्‍याएको अवस्थामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेका छन्। यस्तो संवेदनशील समयमा प्रदेश सरकारका मन्त्रीको प्राथमिकता र गतिविधिमाथि पनि प्रश्न उठ्न थालेको छ।

मन्दिर शिलान्यास गर्नु आफैंमा गलत नभए पनि बजेटको स्रोत र योजना नै स्पष्ट नभएको अवस्थामा मन्त्रीले गरेको शिलान्यासले प्रदेश सरकारको योजना कार्यान्वयन र पारदर्शितामाथि प्रश्न उठाएको छ।

अब मन्त्री तत्माले शिलान्यास गरेको कमला माई मन्दिर कुन बजेटबाट बन्न लागेको हो, कति रकम विनियोजन भएको छ र कुन निकायले निर्माण गर्ने हो भन्ने विषय सार्वजनिक गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १७:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !