मधेशमा सर्पदंशको औषधि अभाव, रेबिजविरुद्धको खोपले केही महिना धान्ने

मधेशमा सर्पदंशको औषधि अभाव, रेबिजविरुद्धको खोपले केही महिना धान्ने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १०:४५
मधेशमा सर्पदंशको औषधि अभाव, रेबिजविरुद्धको खोपले केही महिना धान्ने

जनकपुरधाम : मधेश प्रदेशका विभिन्न अस्पतालमा सर्पदंशको औषधि अभाव हुँदा उपचार प्रभावित हुन थालेको छ । रेबिजविरुद्धको खोप भने हालै उपलब्ध भएपछि केही महिनाका लागि अभाव टर्ने भएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरका अनुसार एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट ३/४ दिनअघि मात्रै रेबिजविरुद्धको खोप प्राप्त भएको हो । खोप आएपछि अब सरकारी स्वास्थ्य संस्थाबाट बिरामीले सहज रूपमा सेवा पाउने केन्द्रले जनाएको छ ।

ADVERTISEMENT

यसअघि महिनौँदेखि सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव हुँदा बिरामीका आफन्तले निजी फार्मेसीबाट महँगो मूल्यमा खोप खरिद गर्नुपर्ने अवस्था थियो । कुकुर, स्याललगायतका जनावरले टोकेपछि रेबिजको जोखिम हुने भएकाले खोप अनिवार्य मानिन्छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी अधिकृत तथा सूचना अधिकारी उज्ज्वल यादवले प्रदेश सरकारले केही मात्रामा खोप खरिद गरेको र संघीय केन्द्रबाट समेत प्राप्त भएकाले अब ३/४ महिनासम्म पुग्ने बताए ।

उनका अनुसार रेबिजविरुद्धको खोप उपलब्ध भए पनि सर्पदंशको औषधिको अभाव भने कायमै छ । “रेबिजको औषधि आएको छ, तर सर्पदंशको औषधिको अभाव कायमै छ,” उनले भने, “यस विषयमा मन्त्रालय र विभागलाई जानकारी गराइसकेका छौँ । चाँडै औषधि पाउने आश्वासन पाएका छौँ ।”

सर्पदंशको औषधि सहज रूपमा उपलब्ध नहुँदा प्रदेशका विभिन्न स्थानबाट उपचारका लागि आउने बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था देखिएको छ । गर्मी मौसममा सर्पदंशका बिरामीको संख्या बढ्ने गर्छ ।

प्रादेशिक अस्पताल जनकपुरका सूचना अधिकारी डा. रामज्ञान यादवका अनुसार अस्पतालमा हाल करिब १०० भाइल सर्पदंशको औषधि मौज्दात छ । उक्त औषधिले बढीमा ८/१० जना बिरामीलाई मात्र पुग्ने उनले बताए ।

“यो स्टक सकियो भने उपचारका लागि आउने सर्पदंशका बिरामीलाई बाहिर पठाउनुपर्ने हुन्छ,” उनले भने, “त्यतिबेलासम्म केन्द्रबाट औषधि आउन सक्छ होला ।”

डा. यादवका अनुसार सर्पदंशको औषधि कहिलेकाहीँ अभाव हुने गरे पनि रेबिजविरुद्धको खोपको अभाव भने प्रायः हरेक वर्ष दोहोरिने गरेको छ । उनले रेबिजविरुद्धको खोप नियमित रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार रेबिज र सर्पदंशको औषधि खरिदका लागि पर्याप्त बजेट नछुट्ट्याउँदा पनि अभाव हुने गरेको छ ।

मधेश प्रदेश सरकारले प्रदेशभित्रका १२ वटा प्रादेशिक अस्पताल, ८ वटा स्वास्थ्य कार्यालय तथा संघीय अस्पतालमा ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । तीमध्ये ४२ प्रकारका औषधि खरिदका लागि आपूर्ति व्यवस्थापन केन्द्रलाई बजेट उपलब्ध गराइन्छ । केन्द्रले आफैँ खरिद गरेर अस्पतालको मागअनुसार औषधि पठाउने गरेको छ ।

फार्मेसी अधिकृत यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बजेट निकासा ढिलो हुँदा औषधि खरिद गर्न नसकिएपछि विनियोजित रकम फ्रिज भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा पनि तोकिएको बजेट पुस–माघमा मात्रै प्राप्त भए पनि त्यसपछि आवश्यक औषधि खरिद गरिएको उनले बताए ।

गत वर्ष खरिद गरिएका मधुमेह, उच्च रक्तचाप, दमलगायतका औषधिसँगै पारासिटामोल, एलबेन्डाजोल, सिट्रिजिन र रेनीटिडिनलगायतका औषधि अझै ४/५ महिनासम्म पुग्ने केन्द्रको अनुमान छ ।

सरकारले तोकेबमोजिमका औषधि निःशुल्क र सहज रूपमा उपलब्ध गराउने हो भने हाल छुट्ट्याइएको बजेट पर्याप्त नहुने कर्मचारीहरूको भनाइ छ ।

चालु आर्थिक वर्षको साउन महिना सकिन लाग्दासमेत अर्थ मन्त्रालयबाट आवश्यक निर्देशिका नआएका कारण औषधि खरिद प्रक्रिया र टेन्डर कहिलेदेखि सुरु हुने भन्नेमा कर्मचारीहरू अन्योलमा छन् ।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १०:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !