१० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो

१० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार १८:५५
१० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ।

बिहीवार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो। प्रतियोगिता मंसिरको १६ गतेदेदि २९ गतेसम्म सुर्खेतमा हुने सञ्चालन गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए।

ADVERTISEMENT

बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्य सचिवहरू र परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ।

यसैगरी, जापानमा आयोजना हुने १९ औँ एशियाली खेलकुदका लागि खेलाडी र अफिसियल गरी कुल २ सय १८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति दिएको छ। बैठकले खेलकुद क्षेत्रको प्रशासनिक सुधारका लागिसमेत केही महत्वपूर्ण निर्णयहरू गरेको छ।

जसमा कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोतको विनियोजन र चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण जस्ता विषयहरू रहेका छन्। परिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी र ऊर्जावान बनाउन यी निर्णयहरूले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै, नेपालमा पहिलो पटक ‘प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ। उक्त प्रतियोगिता आगामी पुस १५ गतेदेखि शुरु हुने जानकारी दिए।

बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको पछिल्लो विवाद र निलम्बनका विषयमा पनि छलफल भएको थियो। यस विषयमा परिषद्ले वस्तुस्थितिको जानकारी लिँदै निकासका लागि समन्वय र सहकार्य भइरहेको जनाएको छ।

सरकार र परिषद्को तर्फबाट निकट भविष्यमै यस समस्याको उचित समाधान निकाल्ने गरी पहल भइरहेको प्रवक्ताले जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १८:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !