टिकटकमा ‘रोस्ट’ गरेको निहुँमा आमा–छोरामाथि कुटपिट , प्रहरीले भन्यो– ‘वास्तविकता बुझ्दैछौँ’

टिकटकमा ‘रोस्ट’ गरेको निहुँमा आमा–छोरामाथि कुटपिट , प्रहरीले भन्यो– ‘वास्तविकता बुझ्दैछौँ’
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २६, मंगलवार ११:११
टिकटकमा ‘रोस्ट’ गरेको निहुँमा आमा–छोरामाथि कुटपिट , प्रहरीले भन्यो– ‘वास्तविकता बुझ्दैछौँ’

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–८, टेढामोडमा टिकटकमा एक महिलाको भिडियो ‘रोस्ट’ गरेको विषयलाई लिएर आमा–छोरामाथि कुटपिट भएको आरोप लागेको छ।

पीडित पक्षका अनुसार स्थानीय एक समूहले बाटो छेकेर सविता देवी ठाकुर र उनका छोरा विमलेश कुमार ठाकुरलाई रोकी सामूहिक रूपमा कुटपिट गरेको हो।

ADVERTISEMENT

पीडित पक्षले बाटोमा समूह बनाएर बसेका व्यक्तिहरूले आमा–छोरालाई घेरा हाली कुटपिट गरेको आरोप लगाएको छ। कुटपिटका क्रममा सविता देवीमाथि अभद्र व्यवहार गर्दै कपडासमेत च्यातिदिएको आरोप छ।

त्यस्तै, विमलेशलाई कान र पिठ्युँमा चोट लाग्ने गरी कुटपिट गरिएको पीडित पक्षको दाबी छ। घटनामा आमा–छोरा दुवै घाइते भएको बताइएको छ।

पीडित पक्षले घटनामा कमला नगरपालिका–८ का भोला धानुक मण्डल, ओपिन्द्र धानुक मण्डल, जगती धानुक मण्डल, वतहा साफी र भगती धानुक मण्डल संलग्न रहेको आरोप लगाएको छ।

पीडित पक्षले कुनै पूर्वसूचनाबिना बाटो छेकेर आफूहरूलाई नियन्त्रणमा लिई कुटपिट गरिएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेको छ।

यता, इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले विमलेश ठाकुरले केही दिनअघि एक विवाहित महिलाको टिकटक भिडियो ‘रोस्ट’ गरेको विषयलाई लिएर कुटपिट भएको प्रारम्भिक जानकारी आएको बताए।

तर, विमलेशकी आमालाई कुटपिट गरिएको भन्ने आरोपबारे भने प्रहरीले पुष्टि गरिनसकेको उनको भनाइ छ।

“टिकटकमा एक विवाहित महिलाको भिडियो रोस्ट गरेको निहुँमा विमलेशलाई कुटपिट गरिएको भन्ने कुरा आएको छ। तर, उनकी आमालाई कुटपिट गरेको छैन भन्ने पनि कुरा छ,” प्रहरी निरीक्षक घिमिरेले भने।

घटनाबारे वास्तविकता पत्ता लगाउन आज दुवै पक्षलाई बोलाइएको उनले बताए। “आज दुवै पक्षलाई बोलाएको छु। वास्तविकता के हो, बुझ्दैछौँ,” उनले भने।

प्रहरीले दुवै पक्षको बयान तथा घटनासम्बन्धी अन्य तथ्य संकलन गरेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार ११:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !