राजविराजमा अनिश्चितकालीन कर्फ्यु, शुक्रबार बिहान ८ बजेदेखि लागू

राजविराजमा अनिश्चितकालीन कर्फ्यु, शुक्रबार बिहान ८ बजेदेखि लागू
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १५, शुक्रबार ०८:००
राजविराजमा अनिश्चितकालीन कर्फ्यु, शुक्रबार बिहान ८ बजेदेखि लागू

चन्दन रजक, राजविराज : सप्तरीको राजविराजमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको आदेशअनुसार आन्दोलन तथा झडपका कारण जिल्लाको शान्ति–सुरक्षामा प्रतिकूल असर पर्न सक्ने निष्कर्षसहित जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो। सोही निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

ADVERTISEMENT

आदेशअनुसार कर्फ्यु शुक्रबार बिहान ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।

कर्फ्युको दायरा राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रूपनी रोडको बसबिटी चोक र दक्षिणमा विष्णुपुर गाउँपालिकाअन्तर्गत कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रलाई समेटिएको छ।

प्रशासनले कर्फ्यु अवधिमा आदेश उल्लङ्घन गरी कुनै पनि प्रकारका गतिविधि गरे वा गराएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

पछिल्ला केही दिनयता राजविराज क्षेत्रमा आन्दोलन र तनाव बढ्दै गएपछि सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले कर्फ्यु आदेश जारी गरिएको प्रशासनको भनाइ छ। प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र प्रशासनले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०८:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !