देवानगञ्ज घटनामा सहमति: मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख, छानबिन र रोजगारीको प्रतिबद्धता

देवानगञ्ज घटनामा सहमति: मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख, छानबिन र रोजगारीको प्रतिबद्धता
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १५, शुक्रबार ०७:०४
देवानगञ्ज घटनामा सहमति: मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख, छानबिन र रोजगारीको प्रतिबद्धता

जनकपुरधाम : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न बुँदामा सहमति भएको छ।

शुक्रबार भएको लिखित सम्झौताअनुसार गृह मन्त्रालयले पीडित पक्षले उठाएका मागलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT

सम्झौतामा मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइने उल्लेख छ। साथै, दुवै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ नेपाल सरकारका तर्फबाट उपलब्ध गराइने सहमति भएको छ।

यस्तै, साउन १० गते राति देवानगञ्ज–३, कमानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ।

सम्झौतामा देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई कानुनबमोजिम कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।

सम्झौताअनुसार मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

उक्त सम्झौतापत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृहमन्त्री सुदन गुरुङले हस्ताक्षर गरेका छन्। सम्झौतापछि आन्दोलनका थप कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०७:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !