सम्पादकीय : ‘स्टाटसको भरमा देश चल्दैन’

सम्पादकीय : ‘स्टाटसको भरमा देश चल्दैन’
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १३, बुधबार १०:०१
सम्पादकीय : ‘स्टाटसको भरमा देश चल्दैन’

“गरिबको चमेली बोल्दिने कोही छैन” भन्ने बोलको गीत गाएर चर्चामा आएका तत्कालीन र्‍यापर तथा गायक बालेन्द्र शाह (बालेन) पछिल्ला केही वर्षयता नेपाली राजनीतिमा एउटा फरक पहिचान बनाउन सफल भएका छन्। विशेषतः काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि उनले परम्परागत राजनीतिक शैलीभन्दा फरक, सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने अभ्यासलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरे।

उनका स्टाटसहरू जनतामाझ व्यापक रूपमा साझा भए, समर्थन पाए, र उनी एक “स्टाटस लेख्ने” नेतृत्वको रूपमा स्थापित भए।

ADVERTISEMENT

तर आज परिस्थिति बदलिएको छ। जनताको मतबाट निर्वाचित भई देशको कार्यकारी नेतृत्व सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहबाट जनताले केवल सामाजिक सञ्जालमा लेखिने स्टाटस होइन, राष्ट्रिय मुद्दामा स्पष्ट धारणा, संवेदनशीलता र उत्तरदायी नेतृत्वको अपेक्षा गरेका छन्।

विशेषगरी ७६ जनाको ज्यान गएको जेन्जी आन्दोलनपछि बनेको राजनीतिक परिवेशमा दुई तिहाइ बहुमत नजिकको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले सय दिन पूरा गर्दा पनि विभिन्न सामाजिक, मानवीय र राष्ट्रिय मुद्दामा उल्लेखनीय सार्वजनिक धारणा व्यक्त नगर्नु गम्भीर प्रश्नको विषय बनेको छ ।

लोकतन्त्रमा मौनता पनि एउटा राजनीतिक सन्देश हुन्छ। तर जनताको विश्वासबाट स्थापित सरकारका लागि निरन्तर मौन बस्नु उत्तरदायित्वबाट टाढिने संकेतका रूपमा पनि बुझिन सक्छ। जनताले नेतृत्वबाट संकटका बेला सम्बोधन, अन्यायका बेला आवाज, र संवेदनशील विषयमा स्पष्ट अडान अपेक्षा गर्छन्।

त्यसैगरी, संसद् र सांसदहरूप्रति देखिएको बेवास्ता वा अवहेलनाको शैलीले पनि लोकतान्त्रिक संस्थाप्रतिको सम्मानमाथि प्रश्न उठाएको छ। लोकतन्त्र व्यक्तिको लोकप्रियताभन्दा संस्थाको मजबुतीमा टिक्ने व्यवस्था हो। बहुमतले प्राप्त गरेको शक्ति जनताको सेवाका लागि हो, शक्ति प्रदर्शनका लागि होइन।

प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा जस्तै जनताको भावना बुझ्ने, प्रश्नहरूको जवाफ दिने र आवश्यक विषयमा स्पष्ट धारणा राख्ने राजनीतिक संस्कृतिलाई निरन्तरता दिन आवश्यक छ। सामाजिक सञ्जाल एउटा प्रभावकारी माध्यम हुन सक्छ, तर केवल स्टाटसका भरमा न त देश चल्न सक्छ न त जनताकाे अपेक्षा पुरा गर्न सकिन्छ।

लोकतान्त्रिक शासनमा नेतृत्वको मूल्यांकन केवल लोकप्रियताले होइन, उत्तरदायित्व, पारदर्शिता, संवाद र संवेदनशीलताले हुन्छ।

अब जनताको अपेक्षा प्रधानमन्त्रीको स्टाटसभन्दा धेरै माथि पुगेको छ। देशलाई मौनता होइन, म्याच्याेर्य नेतृत्व चाहिएको छ ।

-सम्पादकीय

प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार १०:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !