पाँच स्थानीय तहमा ‘सुरक्षा र न्याय’ कार्यक्रमको उपलब्धि हस्तान्तरण, दीगो निरन्तरतामा जोड

पाँच स्थानीय तहमा ‘सुरक्षा र न्याय’ कार्यक्रमको उपलब्धि हस्तान्तरण, दीगो निरन्तरतामा जोड
मधेशपत्र मधेशपत्र २०८३ असार १९, शुक्रबार १७:१४
पाँच स्थानीय तहमा ‘सुरक्षा र न्याय’ कार्यक्रमको उपलब्धि हस्तान्तरण, दीगो निरन्तरतामा जोड

जनकपुरधाम : बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन निड (People in Need) को नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित ‘सुरक्षा र न्याय’ कार्यक्रमअन्तर्गत मधेश प्रदेशका पाँच स्थानीय तहमा परियोजना सल्लाहकार समिति बैठक तथा उपलब्धि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

आज सम्पन्न कार्यक्रममा जुन २०२४ देखि जुन २०२६ सम्म परियोजनामार्फत हासिल भएका उपलब्धि तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो।

ADVERTISEMENT

छलफलका क्रममा समुदायमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार, पीडितमैत्री सेवा प्रवाह, न्यायमा पहुँच वृद्धि तथा हिंसाविरुद्ध बोल्ने वातावरण निर्माणमा परियोजनाले उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्ष निकालिएको थियो।

त्यसैगरी, स्थानीय तथा विद्यालयस्तरमा गठन गरिएका बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ संयन्त्रमार्फत बालिका शिक्षा प्रवर्द्धन, समावेशी शिक्षाको विस्तार, विद्यालयमा सुरक्षित वातावरण निर्माण तथा संस्थागत अभ्यास सुदृढ भएको समीक्षा गरिएको थियो।

पिपुल इन निडका परियोजना प्रबन्धक सुनिल कुमार साहले परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ र अन्तिम प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै उपलब्धिलाई संस्थागत गरी दीगो रूपमा अगाडि बढाउन आग्रह गरे।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले न्यायिक समितिको सुदृढीकरण, लैङ्गिक हिंसा रोकथामसम्बन्धी नीति तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन, आवश्यक बजेट व्यवस्थापन तथा परियोजनाबाट स्थापित सफल अभ्यासलाई आगामी वार्षिक योजना तथा कार्यक्रममा निरन्तरता दिने प्रतिबद्धता जनाए।

परियोजनाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरूले परियोजनामा कार्यरत कर्मचारीलाई धन्यवादसहित सम्मान पनि गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख मनोज साहले लैङ्गिक हिंसा तथा अन्य हानिकारक परम्परागत अभ्यास अन्त्य गर्न नागरिक समाज तथा संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता संस्थासँग सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए।

कार्यक्रमको समापनमा आयोजकले परियोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने स्थानीय सरकार, नेपाल प्रहरी, विद्यालय, सेवा प्रदायक संस्था, समुदायमा आधारित संघसंस्था तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको थियो।

उपलब्धि हस्तान्तरण कार्यक्रम बाराको सिम्रौनगढ नगरपालिका, सर्लाहीको बरहथवा नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका तथा महोत्तरीका जलेश्वर र लोहारपट्टी नगरपालिकामा आयोजना गरिएको थियो।

प्रकाशित मिति: २०८३ असार १९, शुक्रबार १७:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !