कार्यालय सुनसान, कर्मचारी गायब : सिंचाइ डिभिजन सप्तरीमा सेवा प्रवाह प्रभावित

कार्यालय सुनसान, कर्मचारी गायब : सिंचाइ डिभिजन सप्तरीमा सेवा प्रवाह प्रभावित
मधेश पत्र मधेश पत्र २०८३ असार ८, सोमबार २१:४४
कार्यालय सुनसान, कर्मचारी गायब : सिंचाइ डिभिजन सप्तरीमा सेवा प्रवाह प्रभावित

राजविराज :जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीमा कर्मचारीहरूको नियमित अनुपस्थितिका कारण सेवाग्राहीहरू समस्यामा परेका छन्। कार्यालय समयमा अधिकांश कर्मचारी उपस्थित नहुने गरेको भन्दै सेवाग्राही तथा उपभोक्ता समितिहरूले गुनासो गरेका छन्।

मधेश पत्रका सञ्चारकर्मी कार्यालय पुग्दा कार्यालय प्रमुखसहित अधिकांश कर्मचारी अनुपस्थित भेटिएका थिए। कार्यालयमा लेखा शाखाका कर्मचारी, एक इन्जिनियर र एक कार्यालय सहयोगी गरी जम्मा तीन जना मात्र उपस्थित थिए।

ADVERTISEMENT

कार्यालय प्रमुख रमण साहसँग फोनमार्फत सम्पर्क गर्दा उनले मन्त्रालयको काम तथा बैठकका लागि जनकपुरधाम गएको बताए। अन्य कर्मचारीहरूको अवस्थाबारे सोध्दा उनीहरू फिल्डमा खटिएको जानकारी उनले दिए।

तर सेवाग्राहीहरूले भने कर्मचारीहरू प्रायः ‘फिल्डमा रहेको’ भन्दै कार्यालयमा अनुपस्थित रहने गरेको आरोप लगाएका छन्। कर्मचारीको अनुपस्थितिका कारण प्रशासनिक तथा प्राविधिक काम प्रभावित हुने गरेको र सामान्य कामका लागि समेत घण्टौं कुर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार कार्यालय समयमा कर्मचारीहरू उपस्थित नहुनु र सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुनुले सेवा प्रवाहको गुणस्तरमाथि नै प्रश्न उठाएको छ।

सरकारी कार्यालयमा कर्मचारीको नियमित उपस्थितिलाई सुनिश्चित गर्दै सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले आवश्यक अनुगमन तथा निगरानी बढाउनुपर्ने माग स्थानीयवासी तथा सेवाग्राहीहरूले गरेका छन्।

प्रकाशित मिति: २०८३ असार ८, सोमबार २१:४४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !