वन अतिक्रमण हटाउने सूचनामा आपति जनाउने पक्राउ

वन अतिक्रमण हटाउने सूचनामा आपति जनाउने पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ असार २, मंगलवार ०७:०४
वन अतिक्रमण हटाउने सूचनामा आपति जनाउने पक्राउ

बारा : वन अतिक्रमण हटाउने सम्बन्धमा डिभिजन वन कार्यालय बाराले सार्वजनिक गरेको सूचनामाथि सामाजिक सञ्जालमा उत्तेजक तथा हिंसात्मक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–९ निवासी करिब ४६ वर्षीय बद्री प्रसाद बडाल रहेका छन्।

ADVERTISEMENT

डिभिजन वन कार्यालय बाराले केही दिनअघि निजगढ नगरपालिका–२ स्थित बनदेवी सामुदायिक वन क्षेत्रभित्र रहेको अतिक्रमित जग्गा खाली गर्न सात दिने सूचना आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो।

उक्त सूचनामा प्रतिक्रिया जनाउँदै बडालले ‘जसले गरिब जनता उठाउन आउँछ, त्यहाँका जनता एक भएर त्यसको घाँटी छिनाउनुपर्छ’ भन्ने आशयको टिप्पणी गरेका थिए। वन कार्यालयले उक्त अभिव्यक्तिलाई सरकारी कर्मचारी तथा सुरक्षाकर्मीलाई लक्षित गर्दै हिंसा भड्काउने र सार्वजनिक शान्ति–सुरक्षामा असर पार्ने प्रकृतिको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएको थियो।

निवेदन प्राप्त भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदै बडाललाई जीतपुरसिमरा उपमहानगरपालिका–३ को बजनी क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा बडालले आफ्नो टिप्पणीप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्। उनले लिखित रूपमा माफी मागेपछि कडा चेतावनीसहित रिहा गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा हिंसा भड्काउने, कानून हातमा लिन उक्साउने तथा सार्वजनिक निकायका कर्मचारीलाई धम्की दिने अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले वन अतिक्रमण नियन्त्रण तथा वन क्षेत्र संरक्षणका लागि कानुनी प्रक्रियाअनुसार अभियान सञ्चालन भइरहेको भन्दै सामाजिक सञ्जालमा जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गरे।

उनले सरकारी कामकारबाहीमा अवरोध पुर्‍याउने, कर्मचारी तथा सुरक्षाकर्मीलाई धम्की दिने वा हिंसात्मक गतिविधि उक्साउने कार्य कानूनविपरीत हुने उल्लेख गर्दै यस्ता घटनामा आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिए।

वन संरक्षण अभियन्ताहरूले पनि सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता अपनाउन तथा असहमति भए कानुनी र सभ्य माध्यमबाट आफ्ना धारणा राख्न आग्रह गरेका छन्। वन अतिक्रमण हटाउने विषयलाई लिएर विभिन्न स्थानमा बहस भइरहेका बेला सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०७:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !