कमला पुलमा बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन

कमला पुलमा बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८३ जेष्ठ २९, शुक्रबार १९:४९
कमला पुलमा बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन

जनकपुरधाम : हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन नगरिएको भन्दै स्थानीयवासीले मधेश प्रदेशसभा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

कमला पुल निर्माण संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पुल निर्माणलाई प्राथमिकतामा नराखिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

ADVERTISEMENT

प्रदर्शनकारीहरूले प्रदेशसभा परिसर बाहिर टायर बाल्दै **‘झुटा आश्वासन चाहिँदैन’, ‘मनोमानी चल्दैन’, ‘नयाँ कमला पुल निर्माण गर’** लगायतका नारा लगाएका थिए। उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीविरुद्ध समेत नाराबाजी गरेका थिए।

स्थानीयवासीले कमला नदीमा रहेको पुरानो संरचनाले बढ्दो सवारी चाप धान्न नसकेको तथा वर्षायाममा आवतजावतमा पटक–पटक समस्या हुने गरेको भन्दै नयाँ पुल निर्माणको माग गर्दै आएका छन्। उनीहरूले प्रदेश र संघीय सरकार दुवैले पटक–पटक आश्वासन दिए पनि बजेटमा योजना समावेश नगरेको आरोप लगाएका छन्।

संघर्ष समितिका प्रतिनिधिहरूले कमला पुल निर्माण क्षेत्रका नागरिकको दीर्घकालीन आवश्यकता भए पनि सरकारले बेवास्ता गरेको बताएका छन्। उनीहरूले तत्काल बजेट व्यवस्थापन गरी निर्माण प्रक्रिया अघि नबढाइए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्।

यसअघि पनि संघर्ष समितिले संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा कमला पुल निर्माणका लागि रकम विनियोजन नगरिएको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेको थियो।

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग लामो समयदेखि उठ्दै आएको भए पनि हालसम्म निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन। स्थानीयवासीले पुल निर्माणलाई विकास र सहज आवतजावतसँग जोडिएको महत्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा हेर्दै आएका छन्।

प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार १९:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !