नागरिकलाई रुखमा बाँध्ने वडा अध्यक्षलाई निलम्बन गर्न माग

नागरिकलाई रुखमा बाँध्ने वडा अध्यक्षलाई निलम्बन गर्न माग
मधेश पत्र मधेश पत्र २०८३ बैशाख २९, मंगलवार १४:३३
नागरिकलाई रुखमा बाँध्ने वडा अध्यक्षलाई निलम्बन गर्न माग

सिराहा, वैशाख २९ — सिराहाको औरही गाउँपालिका–३ मा निजी जग्गामा जबरजस्ती सडक निर्माण गर्ने क्रममा स्थानीय नागरिकलाई रुखमा बाँधेर कुटपिट गरिएको घटनामा संलग्न वडा अध्यक्ष जीवछ यादवलाई तत्काल निलम्बन गरी कानुनी कारवाही गर्न माग गरिएको छ।

जनमत पार्टी सिराहा जिल्ला समितिले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न वडा अध्यक्षसहित अन्य व्यक्तिहरूमाथि छानबिन गरी कारवाही गर्न तथा पीडितलाई न्याय दिलाउन माग गरेको हो।

ADVERTISEMENT

ज्ञापन पत्रमा स्थानीय वीरेन्द्र साहलाई रुखमा बाँधेर कुटपिट गरिएको तथा अन्य स्थानीय नागरिकलाई समेत धम्की र दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ। पार्टीले यस्तो कार्य मानवअधिकारविपरीत, गैरकानुनी तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको जनाएको छ।

जनमत पार्टीले जनप्रतिनिधिबाट नै नागरिकमाथि अमानवीय व्यवहार हुनु अत्यन्त दुःखद र निन्दनीय भएको उल्लेख गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने चेतावनी दिएको छ।

साथै, घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, पीडितको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रशासनसँग जोडदार माग गरिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २९, मंगलवार १४:३३
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !