तिब्बतमा शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ४६ घाइते, ३३९ घरमा क्षति

तिब्बतमा शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ४६ घाइते, ३३९ घरमा क्षति
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:२०
तिब्बतमा शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ४६ घाइते, ३३९ घरमा क्षति

काठमाडौं : चीनको तिब्बत क्षेत्रमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। भूकम्पका कारण ३३९ वटा घर पूर्ण रूपमा भत्किएका वा क्षतिग्रस्त भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा गएको भूकम्पपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रभावित परिवारका लागि राहत वितरणसमेत सुरु गरिएको छ।

ADVERTISEMENT

चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले सार्वजनिक गरेका दृश्यमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू रेस्टुरेन्टबाट हतारहतार बाहिर निस्किएको देखिन्छ। त्यस्तै, सुपरमार्केटमा राखिएका सामानहरू दराजबाट खसेका दृश्य पनि सार्वजनिक भएका छन्।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा रहेको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको मापन गरिएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु बाकेन काउन्टीको मारु बस्तीमा परेको थियो। उक्त बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको तीव्र धक्का कार्यालयभित्रै महसुस भएको र भवनका पर्खालमा ठूला चिरा परेको बताएका छन्। भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको जनाइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा चीनले तेस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको सीसीटीभीले जनाएको छ। उद्धार तथा राहत कार्यका लागि ३०० भन्दा बढी प्रहरी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ कर्मचारी परिचालन गरिएको सिन्ह्वाले उल्लेख गरेको छ।

क्षतिग्रस्त भवनभित्र मानिसहरू च्यापिएको आशङ्कामा उद्धारकर्मीहरूले खोजी गरिरहेका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चिनियाँ सेना परिचालन गर्ने तयारीसमेत गरिएको जनाइएको छ।

चीनका विभिन्न क्षेत्रमा समय–समयमा शक्तिशाली भूकम्प जाने गरेका छन्। सन् २०२५ जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२३ डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाले ज्यान गुमाएका थिए।

यसअघि सन् २०१४ मा दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो। सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए। उक्त घटनामा ठूलो सङ्ख्यामा विद्यार्थीसमेत प्रभावित भएका थिए।

#MadheshPatra

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !