निर्वाचन अधिकृत नआउँदा कमला कांग्रेस नगर अधिवेशनमा उम्मेदवारी दर्ता अन्योलमा

निर्वाचन अधिकृत नआउँदा कमला कांग्रेस नगर अधिवेशनमा उम्मेदवारी दर्ता अन्योलमा
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १२, सोमबार ०९:५४
निर्वाचन अधिकृत नआउँदा कमला कांग्रेस नगर अधिवेशनमा उम्मेदवारी दर्ता अन्योलमा

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर अधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया निर्वाचन अधिकृत उपस्थित नहुँदा अन्योलमा परेको छ।

निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। सोहीअनुसार सभापति पदका आकांक्षी सुरेन्द्र यादवसहितका उम्मेदवारहरू बिहानै कमला नगरपालिका–३ लगमास्थित हनुमान मन्दिरको प्राङ्गणमा पुगेका छन्।

ADVERTISEMENT

तर, निर्धारित समय सुरु भइसक्दा पनि निर्वाचन अधिकृत उपस्थित नभएपछि उम्मेदवारी दर्ता कहाँ र कसरी गर्ने भन्ने विषयमा उम्मेदवारहरू अन्योलमा परेका छन्।

सभापति पदका उम्मेदवार सुरेन्द्र यादव बिहान ९ बजेदेखि नै उम्मेदवारी दर्ताका लागि निर्वाचन स्थलमा बसेका छन्। अन्य उम्मेदवार तथा प्रतिनिधिहरू पनि निर्वाचन अधिकृतको प्रतीक्षामा छन्।

निर्वाचन अधिकृत प्रदीप यादवले आफू बाटोमै रहेको बताएका छन्। उनले केही नेताहरूका कारण निर्वाचन स्थलमा पुग्न ढिलाइ भएको जानकारी दिए।

‘हामी आइरहेका छौँ, बाटोमै छौँ,’ निर्वाचन अधिकृत यादवले भने, ‘केही नेताहरूका कारण ढिलो भएको हो।’

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय बिहान ९ देखि १० बजेसम्म तोकिए पनि निर्वाचन अधिकृत समयमै उपस्थित नभएपछि निर्धारित प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा उम्मेदवारहरू अन्योलमा छन्।

कमला नगरपालिकाको नगर अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरिएको छ। निर्वाचन प्रक्रिया सुरु भएपछि मात्रै उम्मेदवारी दर्ता, दाबीविरोध र अन्य प्रक्रिया अघि बढ्ने बताइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार ०९:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !