युवाले घोषणा गरे ‘हुंकार मधेश’ अभियान

युवाले घोषणा गरे ‘हुंकार मधेश’ अभियान
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ९, शुक्रबार १८:३४
युवाले घोषणा गरे ‘हुंकार मधेश’ अभियान

काठमाडौं : विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरूले विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै अभियान घोषणा गरिएको हो । अभियानले शक्तिशाली राजनीतिक संगठनको जग निर्माण गर्नुका साथै सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्य लिएको छ ।

ADVERTISEMENT

अभियान घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए ।

उनले राजनीतिलाई ‘डर्टी गेम’ का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम, शिक्षित र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताए ।

‘हाम्रो समाजमा मान्छेहरूले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्न थालेका छन् । आज कुनै पनि बाआमाले आफ्ना छोराछोरी राजनीतिमा लागून् भन्ने चाहँदैनन्,’ झाले भने ।

राजनीतिमा समाजका सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ । उनले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनःस्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

झाले मधेश केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्न आफूहरूले प्रस्ताव राखे पनि स्वीकार नभएपछि वैकल्पिक अभियान अघि बढाउनुपरेको बताए ।

‘राजनीतिमा लाग्ने व्यक्ति त्यस समाजको सबैभन्दा ज्ञानी व्यक्ति हुनुपर्छ भन्ने मान्यता छ । तर हाम्रो समाजमा सबैभन्दा ज्ञानी व्यक्ति नेता छैन,’ उनले भने, ‘त्यसैले राजनीतिलाई फेरि सही ट्र्याकमा ल्याउन र सक्षम व्यक्तिलाई राजनीतिमा जोड्न हामी यो अभियानमा लागेका हौँ ।’

उनले राजनीतिप्रति जनतामा बढ्दै गएको वितृष्णा अन्त्य गर्न राजनीतिक नेतृत्वको चरित्र, क्षमता र सामाजिक सम्मान पुनःस्थापित गर्नुपर्नेमा जोड दिए ।

युवा पुस्तालाई राजनीतिमा जोड्दै राजनीतिको वर्तमान प्रवृत्तिलाई परिवर्तन गर्नु अभियानको मुख्य उद्देश्य रहेको झाले बताए ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार १८:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !