रेडियो–टेलिभिजनका फाइल जनकपुर ल्याइयो, अब दर्ता र नवीकरण प्रदेशमै हुने

रेडियो–टेलिभिजनका फाइल जनकपुर ल्याइयो, अब दर्ता र नवीकरण प्रदेशमै हुने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १६:३३
रेडियो–टेलिभिजनका फाइल जनकपुर ल्याइयो, अब दर्ता र नवीकरण प्रदेशमै हुने

जनकपुरधाम : मधेश प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनसम्बन्धी फाइल सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई हस्तान्तरण गरेको छ।

बिहीबार काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई रेडियो तथा टेलिभिजनका फाइल हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

फाइल बुझेपछि प्राधिकरणका अध्यक्ष खड्गाले मधेश प्रदेशका एफएम रेडियो तथा टेलिभिजन सञ्चालकका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताए।

उनका अनुसार अब रेडियोको दर्ता तथा नवीकरणलगायतका सामान्य कामका लागि सञ्चार संस्था सञ्चालकले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ। यस्ता काम अब जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणको कार्यालयबाटै हुने उनले बताए।

‘मधेश प्रदेशका एफएम तथा टेलिभिजन सञ्चालकका लागि यो खुसीको कुरा हो। नवीकरणलगायत सामान्य कामका लागि राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ,’ अध्यक्ष खड्गाले भने, ‘एफएम रेडियोको दर्ता तथा नवीकरण अब प्राधिकरणको कार्यालय जनकपुरबाटै हुनेछ।’

नेपालको संविधान तथा मधेश प्रदेश सञ्चार ऐनले रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रदेशबाटै गर्ने व्यवस्था गरेको भए पनि आवश्यक फाइल केन्द्रबाट प्रदेशमा नआउँदा कार्यान्वयनमा समस्या हुँदै आएको उनको भनाइ छ।

अध्यक्ष खड्गाका अनुसार विगत सात वर्षदेखि सूचना तथा प्रसारण विभागमा रहेका ती फाइल प्रदेशमा ल्याउने प्रयास हुन सकेको थिएन। त्यसका कारण सञ्चार संस्था सञ्चालकहरू प्रदेशबाटै पाउनुपर्ने सेवाबाट वञ्चित हुँदै आएका थिए भने मधेश प्रदेश सरकारले समेत ठूलो परिमाणमा राजस्व गुमाउँदै आएको थियो।

‘सरकारी लापरबाहीका कारण विगत सात वर्षदेखि केन्द्रमा रहेका यी फाइल ल्याउने प्रयास नै भएन। यसले सञ्चार संस्था सञ्चालकलाई सेवा लिन समस्या हुनुका साथै प्रदेश सरकारले प्राप्त गर्नुपर्ने राजस्वसमेत गुमाउँदै आएको थियो,’ उनले भने।

अध्यक्ष खड्गाले आफूले जिम्मेवारी सम्हालेकै दिनदेखि रेडियो तथा टेलिभिजनका फाइल प्रदेशमा ल्याउने विषयमा निरन्तर पहल गर्दै आएको बताए।

फाइल हस्तान्तरणका क्रममा देखिएको कानुनी जटिलता समाधान गर्न मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको महत्वपूर्ण सहयोग रहेको उनले बताए। तत्कालीन गृहसचिव गणेश नायकको समेत सहयोगले फाइल प्राधिकरणमा ल्याउन सफल भएको खड्गाको भनाइ छ।

उनले रेडियो तथा टेलिभिजनका फाइल प्रदेशमा ल्याउने काम सामान्यजस्तो देखिए पनि मधेश प्रदेश सरकारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

‘हेर्दा सामान्य लाग्न सक्छ, तर रेडियो तथा टेलिभिजनका फाइल प्राधिकरणमा ल्याउनु मधेश सरकारको ठूलो उपलब्धि हो,’ उनले भने, ‘यसबाट संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न र रेडियो तथा टेलिभिजन सञ्चालकलाई प्रदेशबाटै सेवा प्रदान गर्न सफल भएका छौं।’

फाइल प्रदेशमा आएपछि अब एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित दर्ता, नवीकरणलगायतका कामका लागि सञ्चार संस्था सञ्चालकले काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य हुने प्राधिकरणले जनाएको छ।

अध्यक्ष खड्गाले यसबाट सञ्चार क्षेत्रका सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुनुका साथै मधेश प्रदेश सरकारको राजस्व संकलनमा समेत योगदान पुग्ने बताए।

‘यस कार्यले मधेश प्रदेश सरकारलाई राजस्व उपलब्ध गराउने कार्यालयमध्ये आमसञ्चार प्राधिकरणलाई अग्रणी स्थानमा पुर्‍याउनेछ,’ उनले भने, ‘प्राधिकरणको पछिल्लो कार्यलाई ठूलो उपलब्धिका रूपमा लिएको छु।’

अब प्रदेशमा रहेका सञ्चार संस्थाले आफ्ना प्रशासनिक तथा कानुनी प्रक्रियाका लागि केन्द्रमा निर्भर हुनुपर्ने अवस्थासमेत क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १६:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !