भरत दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १६:०४
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं : राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

ADVERTISEMENT

दाहाललाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।

गैरकानुनी पक्राउ भन्दै रिहाइको माग गरेर दाहालकी छोरी डेनिकाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

यस्तै सरकारसँग पक्राउ गर्नुको कारण पनि माग गरेको थियो।

विवादास्पद अन्तरवार्तापछि उनलाई पक्राउ गरिएको थियो।

दाहालले अन्तरवार्तामा संविधान र कानूनविरुद्ध हिंसात्मक अन्दोलनको आह्वान गरेको भन्दै विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको छ।

‘निवेदकले यो संविधान र कानूनविरुद्ध हिंसात्मक अन्दोलनको आह्वान गरेको भन्ने समेत नदेखिएको र नेपालको संविधानको धारा १७ (२) (क) ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी मौलिक हकको शान्तिपूर्वक उपयोग गरी विचार अभिव्यक्त गरेको देखिएको स्थितिमा निवेदकलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नु पर्नेसम्मको कुनै पनि आधार र कारण यस अदालतबाट भएको आदेश बमोजिम प्राप्त अनुसन्धान मिसिलबाट देखिँदैन’, आदेशमा भनिएको छ।

जिल्ला अदालत काठमाडौँले पहिलो पटक ३ दिनको लागि थुनामा राख्न अनुमति दिएको थियो।

म्याद थपको अनुमति प्रदान गर्दा निवेदकको बयान कार्य सम्पन्न गर्न समेतका लागि भन्ने आधार खुलाइएको थियो। असोज ६ गते दाहालको बयान समेत सम्पन्न भइसकेको छ।

अदालतले भनेको छ, ‘निवेदकलाई थुनामा नै राख्नु पर्नेसम्मको अवस्था विद्यमानता नरहेको देखिएको अवस्थामा अनुसन्धानलाई निरन्तरता दिनु पर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम आजैका मितिबाट निवेदक भरतमणी दाहाललाई तारिखमा राखी अनुसन्धान गर्नू भनि नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीका नाममा परमादेशको आदेश जारी गरिदिएको छ।’

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १६:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !