पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पारित, अब केन्द्रीय कमिटीमा पेस हुने

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पारित, अब केन्द्रीय कमिटीमा पेस हुने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार ११:४३
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पारित, अब केन्द्रीय कमिटीमा पेस हुने

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनलाई औपचारिक रूपमा पारित गर्दै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।

सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेण्डासमेत तय गरेको छ। एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय समेटिएका छन्।

पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको पुनर्गठन कार्यदलको प्रतिवेदनबारे भट्टले कार्यदलको जिम्मेवारी पूरा भइसकेको बताए। उनका अनुसार प्रतिवेदनमा समेटिएका सुझावहरू अब अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछन्।

‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ। प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रीय समितिमा प्रस्तुत गरिनेछ,’ उनले भने।

अध्यक्षको विमतिबारे सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनलगायत विषयमा यसअघि नै सहमति भइसकेको दाबी गरे। उनका अनुसार ती विषयमा अहिले विवाद नरहेको बताए।

२९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप छलफल आवश्यक नरहेको भट्टको भनाइ छ।

यता, केन्द्रीय कमिटी बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको बताइएको छ। यसबारे आगामी रणनीति भने केन्द्रीय कमिटीमा हुने छलफल र बैठकको प्रक्रियाअनुसार तय गरिने भट्टले बताए।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ११:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !